जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार ०७:३२

अल–हाशमी आईएसको नयाँ नेता चयन, को हुन उनी अमेरिकी सेनालाई नै छैन पत्तो


काठमाडौं, कात्तिक १५ । इस्लामिक स्टेट (आईएस) आफ्नो संगठनको नयाँ नेता चयन गरेको छ । अमेरिकी सेनाको कारवार्हीमा आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको हो । नयाँ नेतामा इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ ।

इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि गरेको छ । उनको मृत्यु पनि अमेरिकी–कुर्द बलको सैन्य अपरेशनमा भएको हो । यसअघि २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए ।

अबु हम्जा अल कुरैशी नयाँ प्रवक्ता चुनिएका छन् । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल–हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् । बीबीसीका अनुसार अबु इब्राहिम अल–हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन । उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल–हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।

आईएस लडाकुलाई विद्रोहीहरुको समूहबाट पैदा भएको सबैभन्दा हिंस्रक आतंकवादी संगठन भनिन्छ । आईएस अल बगदादीको नेतृत्वमा अफ्रिकाबाट अष्ट्रेलियासम्म आफ्नो पहुँच विस्तारको तयारीमा थियो । त्यही बेला अल बगदादीको मृत्युलाई पश्चिमा देशहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलै सफलताको रुपमा व्याख्या गर्दै आएका छन् ।