जनता टाइम्स

११ बैशाख २०८२, बिहीबार २०:५३

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश


काठमाडौं, ११ बैशाख । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अच्युत कुईंकेल जानकारी दिनुभयो ।

उहाँ अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो। शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न, एसईईको नतिजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गर्न आदेश भएको छ, उहाँले भन्नुभयो ।

अधिवक्ता श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।