जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १०:१२

महराविरुद्धको अदालतमा दायर अभियोगपत्रमा रहेका यस्ता छन् प्रमाण


काठमाडौं, कात्तिक १५

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलको कार्यालयले विहिवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । अहिलेसम्म कुनैपनि उच्च ओहोदामा पुगेका व्यक्तिविरुद्ध सरकारी पक्षले नै मुद्दा दायर गरेको यो पहिलो पटक हो ।

प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले खिचेको दृश्यलाई प्रस्तुत गरेको देखिन्छ । यसैगरी शाहीको कोठामा भेटिएको जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको समेत अभियोगपत्रमा उल्लेख गरेको छ । भिडियोपछि यो प्रमाणलाई दोस्रो ठुलो प्रमाणका रुपमा उल्लेख गरिएको छ ।

‘प्रतिवादीले प्रयोग गरेको चस्माको सिसा र डन्डी आइ केयर अप्टिक्समा जाँच गराउँदा प्राप्त भएको लेन्सको थप पावर ‌प्लस २.७५ भएको डी बाइफोकल र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डी बाइफोकल भन्ने व्यहोरा उल्लेख भएबाट घटनास्थलमा भेटिएको चस्माको सिसा र चस्माको फ्रेमको डण्डी प्रतिवादीको नै हो भन्ने तथ्य स्थापित भएको छ’, अभियोगपत्रमा भनिएको छ।

शाहीले स्वास्थ्य जाँच गर्न जाँदा डाक्टरलाई दिएको बयानलाई आधार मान्दै अभियोगपत्रले महरा त्यहाँ गएको पुष्टि गरेको छ । ‘र मलाई धेरैपटक अनुहारमा हिर्कायो । मैले उसको प्याण्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनेँ त्यसपछि भने ऊ किचनको ढोकाबाट भाग्यो । मलाई यसो गर्दा ऊ रक्सी खाएर मातेको थियो,’ भन्दै डाक्टरका सामू उनले भनेको कुरा अभियोगपत्रमा उल्लेख गरेको स्रोतले बताएको छ । शाहीको अनुहार र शरीरको घाउचोट पनि कसैले हिर्काएर भएको कुरा घाउजाँच रिपोर्टमा भएको अभियोगपत्रमा उल्लेख छ।

डाक्टरसामू शाहीले गरेको बयान, घटनाकै राति प्रहरीलाई रोशनीले भनेको कुरा र जाहेरीमा उल्लेख भएको कुरालाई विश्लेषण गरी महराले नै रोशनीलाई बलात्कार गर्न खोज्दा नमानेपछि कुटपिट गरेको निष्कर्ष सरकारी वकिलले निकालेको छ । महराले आफूलाई बलात्कार गर्न खोजेको नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन् । उनले गरेको कागज पनि महराविरूद्धको प्रमाणका रुपमा पेश गरिएको छ ।

त्यस्तै, पत्रकार अजय बाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो । सिवाकोटीले उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको छ ।

‘सभामुखको पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी असोज १२ गते सरकारले उपलब्ध गराएका वरिष्ठ जिम्मेवार सुरक्षाकर्मीहरूलाई निवासबाट बाहिरिँदा सो कुराको यकिन जानकारी नदिइ आफ्नो हैसियतको कुनै हेक्का नराखी, राज्य र आमनागरिकमा पर्ने असरलाई ख्याल नगरी सो संवेदनशीलताप्रति वेवास्ता गरी केही सुरक्षाकर्मीमात्र लिएर साँझ मादकपदार्थ (रक्सी) सेवन गरी साथमा मादकपदार्थ लिइ पीडित एक्लै रहेको निज डेरा–कोठामा गई निजलाई जबरजस्ती मादकपदार्थ सेवन गर्न कर लगाइ–गराइ अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा पीडितले प्रतिकार गर्दा निजलाई कुटपिट समेत गरी घाइते बनाइ जबरजस्ती करणी उद्योगको कसूर गरेकाले,’ अभियोगपत्रमा भनिएको छ, ‘सम्माननीय सभामुखको गरिमामय पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी मुलुकी अपराध संहिता २०७४को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो।’