जनता टाइम्स

१५ कार्तिक २०७६, शुक्रबार १६:३१

यस्तो छ अदालतमा दिएको महराको बयान


काठमाडौं, कात्तिक १५ । संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले शाहीको कोठामा आफू जाँदै नगएको बयान दिनुभएको छ । जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा आज बयान लिने क्रममा निवर्तमान सभामुख महराले घटना घटेको भनिएको दिन असोज १२ गते आफू शाहीको कोठामा नगएको बताउनु भएको हो ।

महराको बयान काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा चलिरहेको छ । महराले इजलाश अधिकृत समक्ष दिएको बयानमा रोशनी शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको बताउनु भयो । शाहीसँग पारिवारिक सम्बन्ध रहेको, त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको महराले जिकिर गर्नुभएको हो । यसअघि शाहीको भिडियो सम्वादसहित समाचार प्रकाशन गर्ने अनलाइनसँग भने महराले आफू शाहीको कोठामा गएको स्वीकारोक्ति गर्नुभएको थियो ।

अदालतको इजलाशमा दिएको बयानमा महराले आफूबाट पीडित भनिएकी शाहीको किटानी जाहेरीमा सत्यता नरहेको जिकिर गर्नुभयो । इजलाशमा रहेका एक कानुन व्यवसायीका अनुसार महराले बयानको क्रममा आफूलाई फसाउन षड्यन्त्र गरिएको ठोकुवासमेत गर्नुभएको छ । ती कानुन ब्यवसायीका अनुसार महराले प्रहरीले आफूबिरुद्ध संकलन गरेका प्रमाण झुट्टो रहेको र नियोजित रुपम आफूलाई फसाउने षडयन्त्र भएको जिकिर गर्नुभएको हो । महराले घटना घटेको भनिएको दिन आफूले मदिरा सेवन नै नगरेको दावी गर्नुभएको छ । प्रहरीसँगको बयानमा महराकै अंगरक्षकले शाहीको कोठामा जाँदा चस्मा लगाएर गएको तर फर्कदा रक्सीले मातेर आएको र चस्मा नलगाएको बताएका थिए । महराले यस भनाईको खण्डन गर्नुभएको हो ।

अदालतको इजलाशसमक्ष महराले संसदकी कर्मचारी रोशनी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको तर उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको दावी पनि गर्नुभएको छ । महराले आफूमाथि बलात्कारको आरोप लगाउने शाहीको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिरसमेत गर्नुभएको छ । महराले प्रहरीसँग पनि शाहीसँग पारिवारिक सम्बन्ध रहेको, त्यस दिन दिउसैदेखि झगडा परेकोले सम्झाउन गएको तर फोन नउठेपछि कोठाभित्र नभएको बयान दिनुभएको थियो ।

शाहीको कोठामा भेटिएको प्रमाण भिडाउन डिएनए परीक्षण गर्न लाग्दा महराले रगत नै दिन नमानेपछि प्रहरीले बिना डिएनए परीक्षण सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । महराले पोलिग्राफ परीक्षण समेत गर्न अस्वीकार गरी आफ्नो मोवाइल हराएको बताउनु भएको थियो । तर बयानमा परिवारका सदस्यले डेरा सर्दा हराएको बताएका छन भने महराले रिसको झोकमा फुटाएको बताउनु भएको छ । अदालतमा पनि महराले शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताउनु भएको हो ।

महरासँग बयान लिने क्रम जारी रहेको छ । महराको बयान नसकिएकाले पुनः थुनामै लैजाने तयारी भएको छ । महरालाई अव आइतबार १० बजे नै अदालतमा हाजिर गराइने छ । आइतवारको थुनछेक बहसपछि अदालतले महरालाई पुर्पक्षका लागि कारागार पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने भन्ने विषयमा निर्णय आउनेछ ।