जनता टाइम्स

१७ बैशाख २०८२, बुधबार २१:१८

९ बुंदे सहमतिसंगै शैक्षिक हडताल स्थगित, बिद्यार्थी भर्ना र परीक्षामा लाग्न शिक्षकलाई महासंघको निर्देशन (सहमतिसहित)


काठमाडौं, बैशाख १७ । शिक्षक महासंघले शैक्षिक एक महिनादेखि जारी आम शैक्षिक हड्ताल स्थगित गरेको छ ।

सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो ।

‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ सुवेदीले भन्नुभयो । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उहाँले शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो । ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उहाँले दिनुभयो । गत चैत २० देखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।

सहमतिअनुसार सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ । गत २० चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासिन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो ।

सहमति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले आफूहरूको आन्दोलनको एम मात्र मुख्य माग विद्यालय शिक्षा ऐन जारी गराउनु रहेको भन्दै त्यसका निम्ति २९ दिनदेखि आन्दोलित भए पनि तत्कालै ऐन जारी हुने अवस्था नरहेको तर राजनीतिक दलहरूको तर्फबाट १५ असारभित्र ऐन जारी हुने लिखित प्रतिबद्धता आएकाले सम्झौता गरिएको बताउनु भयो ।

शिक्षा समितिका सभापति र कांग्रेस तथा एमालेका प्रमुख सचेतकले ऐन निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएका छन् । सरकार र शिक्षक महासंघको बार्ता टोलीबीच भएको सो सहमतिलाई मन्त्रिपरिषदले अनुमादन गरेको छ ।

सहमति पत्र