जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ०९:३७

हुन थाल्यो कानूनी राजको प्रत्याभुति, जुवाखालबाट समातिए प्रधानमन्त्रीकै एडिसी


काठमाडौ., कात्तिक १६ । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेजर शाहीसहित घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा रहेका छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताउनु भयो । म्यारिज खेलिरहेको अवस्थामा उनीहरुलाइृ पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ । कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधमा संलग्न ब्यक्तिलाई पक्राउ गर्दा अनुहार, पद र हैसियत नहेर्न प्रहरीलाई निर्देशन दिएपछि एकपछि अर्काे पावरवालाहरु पक्राउ पर्न थालेका हुन ।