जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १३:३८

छोरीलाई अस्पताल छाडन हिडेका डाक्टर आफैले गुमाए दुर्घटनामा छोरीसहित ज्यान


मोरङ, कात्तिक १८ । कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका १ स्थित शान्ति चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एउटै परिवारका डाक्टर र नर्स रहेका बाबु छोरीको मृत्यु भएको छ । सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बूढीगंगा गाउँपालिका ५ निवासी ५२ वर्षीय नेत्ररोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका डा. शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ हुन् भने अञ्जली न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । मोरङ प्रहरीका अनुसार माझी बाबु छोरी को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए । मोटरसाइकल बुवा शुवालालले चलाएका थिए ।

विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस खनारमा रहेको कल फेसन्स सोलुसन नामक कपडा उद्योगका कामदार लिएर गएको थियो । दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका क्रममा विराट टिचिङ अस्पतालमा पुर्याउँदा चिकित्सकले बिहान ८ बजे मृत घोषणा गरेका थिए ।

लेन अनुशासन मिचेर तीव्र गतिमा अघि बढिरहेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीका सहायक निरीक्षक तुलामणि आचार्यले जानकारी दिनुभयो । ‘ट्राफिक नियमको उल्लंघन गर्दै लेन अनुशासन मिचेर तीव्र गतिमा अघि बढेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो,’ आचार्यले जनताटाइम्ससँग भन्नुभयो ‘उद्योगका कामदार बोकेको बसले नियमको पालना गरेको पाइएन ।’ बस र चालक सिरहाको धनगढी नगरपालिका १२ का ३४ वर्षीय सञ्जिव खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।