जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १५:०७

संसारकै धनी कम्पनी अरामको शेयर बजारमा आउँदै


रियाद, कात्तिक १८

संसारमै सबभन्दा बढी नाफा कमाउने साउदी अरबको कम्पनी ‘अरामको’ शेयर बजारमा आउने भएको छ। कम्पनीले शेयर बजारमा आउन आइपिओ खोल्ने पुष्टि गरेको बिबिसीले जनाएको छ। यसो भएमा, यो संसारकै सबभन्दा ठूलो आइपिओ हुनसक्छ। साउदीको तेल कम्पनी अरामले आइतबार रियाद स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना सुनाएको हो । यो कम्पनी साउदीका शाही परिवारको स्वामित्वमा छ ।

कम्पनीले उसका शेयरबाट एक या दुई प्रतिशत मात्र उपलब्ध गराउन सक्ने अनुमान गरिएको छ । अरामकोको मूल्य करिब १३ खर्ब डलर भएको बताइन्छ। यो संसारकै धनी कम्पनी मानिए पनि हालसम्म सार्वजनिक सेयर जारी नगरेकाले यसलाई धनीको सूचीमा राखिएको छैन । हालसम्मको तथ्यांकअनुसार संसारकै धनी कम्पनी एप्पल हो जसले पोहोर मात्र आफ्नो सम्पत्ति १० खर्ब डलर पुर्याएको थियो।

यसपछि अमेजन र गुगल पनि यो सूचीमा परिसके। अरामकोले शेयर जारी गर्ने भए पनि यो आन्तरिक बजारका निम्ति मात्र खुला हुनेछ। कम्पनीले विदेशी बजारमा अहिल्यै आइहाल्ने योजना बनाएको छैन। ‘अन्तर्राष्ट्रिय शेयर बजारमा आउनेबारे हामी पछि बताउनेछौं’ कम्पनीका बोर्ड अध्यक्ष यासिर अल–रुम्यानले पत्रकार सम्मेलनमा भनेका छन् । बिबिसी