जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार ११:११

शंकर पोखरेलले सार्वजनिक गरे सक्रिय राजतन्त्रभन्दा गणतन्त्रमा गरिवी चार गुणाले घटेको तथ्यांक


काठमाडौँ, जेठ १३ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजतन्त्रको समयभन्दा वर्तमान समयमा धनी र गरिबबीचको खाडल कम भएको तथ्यांक सार्वजनिक गर्नुभएको छ ।

‘सक्रिय राजतन्त्रको समयमा धनी र गरिबबिचको खाडल २१ गुणा थियो,’ मंगलबार बिहान सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेख्नुभएको छ, ‘गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ। कोही पीडा मनाउने नि रैछन !!’

उहाँको यो व्यंग्य जेठ १५ गते राजधानीमा राजावादीले प्रदर्शन गर्न लागेको तर्फ सङ्केत थियो। पोखरेलको यो भनाइमाथि सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन्। उहाँले विगतको कुरासँग दाँज्नेभन्दा पनि वर्तमानमा गर्न सक्ने काम किन नगरेको भन्ने प्रश्न समेत धेरैले गरेका छन।

‘पहिला सबै खत्तम थियो, अहिले सबै ठीक छ भन्ने तर्क नगरौँ महासचिवज्यू। जनतालाई अब त्यस्तो कुरा विश्वास लाग्दैन,’ सामाजिक सञ्जालमा प्रदीप रुपाखेतीले टिप्पणी गर्नुभएको छ, ‘गर्नु पर्ने जस्तो भएन। गर्नै पर्ने जस्तो गरिएन तर अब त गर्नै पर्छ भन्ने सोच आवश्यक छ। अब कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्छ। विचार पनि अब त्यही दिशामा आउनुपर्छ।’

महासचिव पोखरेलले यसअघि गणतन्त्रको पक्षमा एमाले दरिलोसँग उभिने बताउनु भएको थियो । ‘अरू के गर्दछन् उनीहरूको कुरा हो, तर नेकपा एमाले गणतन्त्रवादी भएकोले त्यसको रक्षाका लागि सबै मोर्चामा दृढतापूर्वक उभिन्छ,’ पोखरेलको भनाई छ ।