जीवनाथ शिवाकोटी/काठमाडौं। आजकल एउटा गीत निकै चलिरहेको छ । सोसल मिडिया फेसबुक, टिकटकदेखि इन्ष्टा अनि डिजिटल प्लेटफर्ममा निकै चर्चा कमाइरहेको छ, ‘मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै।’
गीतको सन्देशभन्दा आजकलका युवादेखि हजुरबुवा हजुर आमासम्म टिकटक र रिलमा रमाइरहेका छन्–दुश्मन हेरेको हेर्यै होस भन्ने मनभित्रको चाहना पालेर ।
सत्तारुढ नेकपा एमालेमा यो गीत ठ्याक्कै मिल्न थालेको छ । नेतादेखि कार्यकर्ता पङ्तीसम्म पार्टी काममा भेट हुनै छाडेपछि एमालेभित्र अहिले ‘दुश्मन हेरेको हेर्यै, मचाहिँ नेतासँग फोटो फेरेको फेर्यै’ जस्तो देखिएको हो । यो दृश्य केही दिनअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले नै झेल्नुपर्यो ।
गणतन्त्र दिवसको अवसरमा उत्सव मनाउन राजधानीमा जनता उतार्ने कार्यक्रममा एमालेले सबैभन्दा पहिला पार्टीकै नेता–कार्यकर्तालाई जगाउनु पर्यो । जगाउने क्रममा केन्द्रीय विभागको संयुक्त बैठक राखियो । महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहनुभएको त्यो बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, योगेश भट्टराईसहित एक दर्जन नेता सहभागी कार्यक्रममा महासचिव पोखरेल नै हेरेको हेर्यै बन्नुपर्यो ।
अर्थात् प्रचार तथा प्रकाशन विभागसहित दुई विभाग बाहेक कुनै पनि विभागबाट आधा दर्जन सदस्य पनि सहभागी भएको पाइएन । महासचिव पोखरेलले पोडिएममा उभिएर एक/एक गरेर विभागका नेताहरूको हाजिर गराउनु भयो हात उठाउन लगाएर । तर धेरै विभागको प्रमुख नै फेला परेनन् भने अधिकांश विभागको ४ जना भन्दा बढी फेला परेनन् ।
एमालेमा केन्द्रीय विभाग ३५ सदस्यसम्म रहेक छन् । यसरी महासचिव आफै उभिएर नेताहरूको सहभागिता खोज्दा सबै हेरेको हेर्यैबने भने महासचिव पोखरेल स्वयं हेरेको हेर्यै हुनुपर्यो । अन्तिममा महासचिव पोखरेलले भन्नुभयो-‘यस्तो हेरेको हेर्यैत भएन, विभाग प्रमुखहरूले ख्याल गर्नुहोला ।’
एमालेले गणतन्त्र दिवसमा आयोजना गरेको कार्यक्रमको लागि संयोजन गर्न सचिव छविलाल विश्वकर्मालाई जिम्मा दिएको थियो ।
स्थायी कमिटीका नेतादेखि जनसंगठनमा रहेका नेतासम्म र विभाग सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसहित केही नेतासँग फोटो खिचाउने तर काममा कतै नभेटिने भन्दै एमालेले सचिवलाई जिम्मा दिएको हो । तर केन्द्रीय विभागकै सदस्यहरूले पार्टी कामभन्दा सबैतिर भेटिने सन्देश दिएर पार्टी हेडक्वार्टर र महासचिव शंकर पोखरेललाई हेरेको हेर्यै बनाउने काम गरेका हुन ।
यसअघि जनसंगठनका पदाधिकारीको बैठकमा पनि महासचिव पोखरेलले हाजिर गराउँदा हेरेको हेर्यै हुनुपरेको थियो । सो बैठकमा पनि एक तिहाइको समेत उपस्थिति रहेको थिएन । एमाले नेता-कार्यकर्तामा पछिल्लो समय देखिएको यो प्रबृत्तिले तोकिएको जिम्मेवारीबाहेक सवै पूरा गर्ने तथा पद लिने तर काममा नभेटिनेहरुको बाहुल्यता रहेको सन्देश दिएको आम कार्यकर्ताको बुझाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्