जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १४:५५

खाँडादेवी : गेलुका पहरीकी छोरी, तामाङ पुजारी 


नवराज पथिक

रामेछाप, २४ जेठ । देवी पनि मान्छेको छोरी ? त्यो पनि कुनै ब्राह्मण कन्या वा ऋषि कन्या होइन, जनजाति सीमान्तकृत पहरी समुदायकी छोरी ।

हो रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ खाँडादेवीलाई रामेछापका पहरी समुदाय आफ्नी छोरी भएको दाबी गर्दछन् । अरूले देवी र माता भनेर पूजा गर्ने खाँडादेवीलाई रामेछापको गेलुका पहरीहरू भने छोरी, चेली भनेर पूजा गर्दछन् ।

कहावत अनुसार रामेछापको गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट जन्मिएकी सुन्दरी कन्या सुकमायालाई राजाले रानी बनाउन दरबार लगेकामा दरबारमा बस्न नरुचाएपछि घर फर्काइदिने क्रममा खाँडादेवीमा आएपछि ती कन्या मानिसको रूपबाट अलप भएर तीतेपातीको छाप्रो हालेर बसिन् । पछि त्यही स्थानमा शिला फेला पर्‍यो र त्यही शिलालाई खाँडादेवी भनेर पूजा गर्न थालियो ।

दशैँको फूलपातीको दिन गेलुका पहरी समुदायले खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दूर, टिका चढाउने चलन छ । जसलाई माइती भित्र्याउने भनिन्छ । पहरीहरूले खाँडादेवीलाई आफ्नी चेली मान्छन् ।

खाँडादेवी गाउँपालिका–२ र ७ को सिमानामा रहेको खाँडादेवी मन्दिर रामेछापको ऐतिहासिक, धार्मिक शक्तिपीठ मानिन्छ । यसको चर्चा देवी भागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा पनि गरिएको छ ।

मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यसले यसको पुरातात्विक महत्त्व झल्काउँछ ।  त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ । दरबारबाट पठाइने पूजा खर्च विसं २००९ बाट दरबारले पूजा खर्च पठाउन छाडेपछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा गर्दै आएका थिए । अहिले खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्दै आएको छ ।

२०७० सालमा खाँडादेवी  विकास कोष स्थापना भएपछि मन्दिरलाई व्यवस्थित गर्न, नियमित पूजा लगायतका काम कोषले गर्दै आएको छ । यसमा पुरातत्त्व विभागले पनि सहयोग गर्दै आएको तामाङले बताउनुभयो ।

शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमत (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिञ्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ । देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडोदवीमा छ ।

अहिले मन्दिरमा दर्शन गर्न देशभिका साथै भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । देवीले खड्ग गाडेको, दवबारबाट नै पूजा सामाग्री पठाउने तथा कामना गरेको कुरा पुरा भएपछि मन्दिरमा अदर्शन गर्न आउने मानिसहरूको सङ्ख्या बढ्दै गएको अनुभव दर्शनार्थी पाण्डव प्रसाईँले सुनाउनुभयो ।

खाँडादेवीमा पञ्चवली लिएर काठमाडौं उपत्यकाका साथै, रामेछाप, दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे, सर्लाही लगायतका जिल्लाबाट मानिसहरू आउने गर्दछन् । आफूले मागेको कुरा पुरा भएपछि बलि सहितको पूजा लिएर आउने गरेको दर्शनार्थीहरु बताउँछन् । कतिपय दर्शनार्थीहरु घुम्न र खाँडादेवी हेर्न पनि मन्दिर आउने गर्दछन् ।

जे होस् खाँडादेवीलाई पहरीकी छोरी मान्नु, मन्दिरको पुजारी तामाङ समुदायबाट हुनु, हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मन्दिरलाई आस्थाको केन्द्र मान्नुले पनि नेपाली समाजमा विविधता बिचको एकतालाई बलियो बनाएको छ । त्यसकाे प्रतिक बनेर खाँडादेवी मन्दिर ठिङ्ग उभिएकाे छ ।  पछिल्लो समय खाँडादेवी आकर्षक पर्यटकीय धार्मिक स्थल बन्दै गएको छ  । तपाईँ पनि खाँडादेवी जानुहोस्, धार्मिक पर्यटन प्रवर्धनमा सहयोग गर्नुहोस् ।