जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार १८:१४

भारतलाई पूर्वप्रधानमन्त्री खनालको जवाफ : कालीनदी पूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली हुन


काठमाडौं, कात्तिक २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग सुझाव दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता खनालले आज विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

‘‘नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धिले नै निर्धारण गरिसकेको छ । त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन,’ खनालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘ नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धारित भइआएको छ । महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो । त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन् ।’’

भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ ।