जनता टाइम्स

२२ कार्तिक २०७६, शुक्रबार १७:१५

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई एक करोड ऋण दिने श्रममन्त्री बिष्टको घोषणा, यस्तो छ योजना


काठमाडौं, कात्तिक २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई सरकारले एक करोडसम्मको ऋण सुविधा दिने गृहकार्य भइरहेको जानकारी दिनुभएको छ । गैर सरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी संचय कोषलगायतका पदाधिकारीहरुसँग आज भएको सामूहिक छलफलमा मन्त्री बिष्टले सो जानकारी दिनुभएको हो ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले घरजग्गा वापत बढीमा १ करोड र शैक्षिक कर्जा बापत बढीमा ३५ लाख ऋण प्रवाह गर्ने बिषयमा छलफल भइरहेको मन्त्री बिष्टको भनाई छ । ऋण प्रवाहको विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् ऋण प्रवाह गर्ने सोच अघि बढाएको उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने जानकारी पनि गराउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।