काठमाडौं, असार ७ । अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार बन्ने दौडधुपमा हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रपति पौडेलले ग्रिन सिग्नल पनि दिइसक्नु भएको थियो तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तगारो बन्नुभयो ।
देउवाले राष्ट्रपति पौडेलसँग भेटेर वाग्लेको नाम ठाडै अस्वीकार गर्नुभयो । देउवाको अस्वीकारपछि अव कांग्रेसमा केही पाइन्न भन्ने निश्कर्षका साथ स्वर्णिम नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभयो । रास्वपा प्रवेशसँगै राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको पौडेलकै निर्वाचन क्षेत्र तनहुबाट उम्मेदवार बनेर प्रतिनिधिसभाको यात्रा तय गर्नुभयो ।
तनहुँकै त्यागी मानिएका कांग्रेस नेता गोबिन्द भट्टराईलाई अवसरको चाङमा बसेका गोरखाका वाग्ले सांसद बन्नुभयो । अवसर नै अवसर दिँदा पनि धोका दिएको भनेर रिसाउनु भएका देउवाले त्यसपछि वाग्लेको नाम लिनै छाडिदिनुभयो । ‘त्यो फटाहा, खानुजति खाँदा पनि कहिल्यै नअघाउने’ भन्दै देउवाले स्वर्णिमका निकट साथीहरुलाई सुनाउनुभयो । कांग्रेस छाडेपछि स्वर्णिम सांसदसँगै रास्वपाको उपसभापति बन्नुभयो ।
राष्ट्रपतिको सल्लाहकार नपाएर कांग्रेस छाडनुभएका वाग्लेले पार्टी त्यागेपछि पहिलो पटक शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गर्नुभएको छ । कांग्रेस परित्यागपछि पहिलोपटक वाग्ले आफै सभापति देउवालाई भेट्न पुग्नुभएको हो ।
देउवा निकट स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार लगभग १०औं पटकको प्रयाशपछि वाग्लेलाई देउवाले भेट दिनुभएको हो । भेटमा देउवाले कांग्रेस नछाडेको भए हुन्थ्यो, किन छाडेको ? भन्दै सुरुमै प्रश्न गर्नुभएको थियो । पूर्वमन्त्री डा. नारायण खड्काले देउवा र वाग्लेको भेटका लागि समन्वय गर्नुभएको थियो । उहाँहरुबीच गृहमन्त्री रमेश लेखकको भिजिट भिसा काण्ड जोडिनुअघि नै संवाद भएको स्रोतले बताएको छ ।
‘सभापतिज्यूसँग भेट्न उहाँले नारायण खड्का दाइसँग समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । स्वर्णिमजीको आग्रह अनुसार, नारायण दाइले सभापतिसँग कुरा गरेर भेटघाट मिलाउनुभएको हो,’ जनताटाइम्स डटकमको जिज्ञासामा देउवा निकट एक पदाधिकारीले भने ।
ती नेताले रास्वपा उपसभापति वाग्लेले कांग्रेस सभापति देउवालाई भेटेको र सौहार्दपूर्ण रुपमा कुराकानी भएको स्वीकार गर्नुभएको छ । अन्य दलका शीर्ष तहका नेताहरूसँग संवाद गर्नेक्रममा सभापति देउवासँग पनि भेट भएको वाग्लेको जिकिर छ । वाग्लेले पार्टी उपसभापतिको हैसियतले कांग्रेस सभापति देउवासँग संवाद गरेको बताउनु भयो ।
‘गिरिजाबाबुविरुद्ध मैले पनि त १४ वर्ष संघर्ष गरेकै हुँ भन्नुभयो । तमाम असन्तुष्टिका बाबजुद पार्टीमै रहेको भए हुन्थ्यो, तपाईं जस्तो मान्छे चाहिं कांग्रेस छोड्न हुँदैनथ्यो भनेर भन्नुभयो,’ वाग्लेसँगको भेटमा देउवाको भनाई थियो । देउवाको यस भनाईमा आफू पालो पर्खिएर कुरेर बस्न नसकेको जवाफ दिएको वाग्लेले मिडियामार्फत सार्वजनिक गर्नुभएको छ । ‘यहाँ ढोकेर, कुरेर समय बर्बाद गर्न मैले उपयुक्त ठानिनँ भनेर मैले उहाँलाई स्पष्ट भनेँ,’ वाग्लेको भनाई छ ।
स्रोतका अनुसार भेटमा देउवाले यस्तो बुद्धिजिवी जस्तो मान्छे त्यो रबि जस्तो फटाहकोपछि किन लागेको भन्दै रबि लामिछानेको सहकारी ठगीदेखि अन्य बिषयबारे खुला खुलस्त बताइदिनु भएको छ । ‘त्यस्ले नगरेको कुनै काम नै छैन । त्यस्तो फटाहकोपछि पनि लाग्ने ? त्यो पनि कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी छाडेर ?’ वाग्लेसँग देउवाको भनाई थियो ।
सभापति देउवाले दोहोरो पासपोर्ट प्रकरणमा आफूहरुले जोगाइ दिएको भएपनि सहकारी ठगीमा रवि लामिछानेको संलग्नता डरलाग्दो देखिएको र जोगाउन चाहनेले पनि नसकेको भन्दै बदमासको बादशाहको संज्ञा दिनुभएको थियो ।
आफू बदमासी गर्ने र अरुमाथि दोष लगाइदिने चलन रबिको रहेको भन्दै देउवाले त्यो त झुक्याउन र ढाँटन प्रचण्ड भन्दापनि खतरनाक पो रैछ त भन्नुभएको समेत स्रोतले बतायो । यी दुवै बिषयमा उपसभापति वाग्लेले कुनै जवाफ नदिएको केवल आफू कांग्रेसमा कुरेर बस्न नसकेको कारण छाडेर हिडेको जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्