काठमाडौं, असार ११ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवादले उमेर हदबारे केही नभनेको भन्दै पार्टीमा उमेर हद हटाउने संकेत दिनुभएको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।
उहाँले माक्र्सवादले उमेर हद राख्नुपर्ने र राख्नु नपर्ने केही नभएको जिकिर गर्नुभयो । ‘मार्क्सवादले उमेर हद राख्नुपर्छ पनि भनेको छैन, राख्न हुन्नु भनेको पनि छैन । राख्नुपर्छ भन्नेहरू भयंकर क्रान्तिकारी र नराख्नुपर्छ भन्नेहरू अक्रान्तिकारी केही पनि होइन,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘त्यतिबेलाको आवश्यकताले सिर्जना गर्ने विषय हो ।’
७० वर्षे उमेर हद राख्ने निर्णय बाधक भएको रियलाइजेसनसहित सचिवालय र केन्द्रीय कमिटीबाट स्थगन गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । ‘हिजो एउटा आवश्यकताले हामीले राख्यौं, तर राखेको केही समयमै कही कही यो चाहिँ बाधक हुँदो रहेछ भन्ने कुराको रियलाइजेसनसहित पहिला सचिवालयले निर्णय गर्यो, पछि केन्द्रीय कमिटीलाई अनुमोदन गर्यो’, ज्ञवालीले भन्नुभयो ।
उहाँले उमेर हदको विषय विधान महाधिवेशनले टुंगो लगाउने जानकारी पनि दिनुभयो । पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले विधान महाधिवेशनका प्रतिनिधिहरूले उमेर हद लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने बताउनु भयो । बिधान संशोधनका लागि दुई तिहाई प्रतिनिधिको समर्थन आवश्यक पर्छ ।
‘हाम्रो पार्टीको फैसला गर्ने सर्वोच्च निकाय विधान महाधिवेशन भएकाले यसबारे आवश्यक निर्णय विधान महाधिवेशन गर्नेछ’, ज्ञवालीले भन्नुभयो, ‘यो विषयलाई लिएर धेरै अनुमानहरू गर्नु या सिद्धान्तको विषय बनाउनु जरुरी छैन । यो सिद्धान्तको विषय होइन ।’
प्रतिक्रिया दिनुहोस्