जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार ०८:४२

भारतलाई मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाएर नेपाली भूभाग फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली


काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्य र तथ्यांकसहित भारतलाई सम्झाएर नेपाली भुभाग फिर्ता लिने अठोट गर्नुभएको छ । लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको भन्दै प्रधानमन्त्री ओलीले सो अठोट गर्नुभएको हो ।

कालापानी क्षेत्रको सिमाविवादको बिषयमा प्रधानमन्त्री ओलीले शनिवार साँझ आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सो कुरा बताउनुभएको हो । बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाउनुभएको छ ।

‘सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सिमाका समस्या समाधान गर्न अग्रसर रहेको छ, सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु,’ हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुदैन, त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागु नहुने बताउनुभएको छ । ‘हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ ।’ प्रधानमन्त्री ओलीले हालको सिमा विवादको बिषयमा कसैलाई उत्ताउला पनि अभिव्यक्ति नदिन निर्देशन दिनुभएको छ । “उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो “ भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ”