काठमाडौं, कात्तिक २४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताउनु भएको छ । आफ्नै दल निकट अनेरास्वबियूले आज बुझाएको ज्ञापनपत्र बुझेपछि परराष्ट्रमन्त्री ज्ञवालीले सो भनाई राख्नुभएको हो ।
मन्त्री ज्ञवालीले भारतले जारी गरेको नक्सामा नेपाली भुमि परेकोले यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने जानकारी पनि दिनुभयो । मन्त्री ज्ञवालीका अनुसार मन्त्री ज्ञवालीले भारतले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको आरोप पनि लगाउनु भयो । ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो ।
मन्त्री ज्ञवालीले भारतले जारी गरेको नक्साबारे औपचारिक रुपमा अस्वीकार्य रहेको जानकारी दिइसकिएको पनि प्रष्ट पार्नुभयो । ‘अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ हो, त्यसलाई हामीले अस्वीकार्य भनेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाई थियो । उहाँले विगतमा राजा राणाहरुले छाडे भनेर बर्तमान सरकार चुप नबस्ने र नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताउनु भयो ।
ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्