जनता टाइम्स

२४ कार्तिक २०७६, आईतवार १७:५८

टीम फेर्ने निर्णयबारे प्रधानमन्त्री ओलीले खोल्नुभयो मुख


काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सल्लाहकार र सचिवालयको टीमबारे पार्टी नेताहरुसँग परामर्श थाल्नुभएको छ । सचिवालय र सल्लाहकारमा नियुक्त गरिएका सवैलाई आगामी मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिन निर्देशन दिनुभएका प्रधानमन्त्री ओलीले नयाँ सचिवालय गठनको सन्दर्भमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहितका नेताहरुसँग परामर्श गर्नुभएको हो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले काममा निकै असहजता महसुस भएपछि आफ्नो टीम फेर्ने निश्कर्षमा पुगेर राजीनामा दिन लगाएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेलसँग सचिवालय हेरफेरको बिषयमा जानकारी गराई सुझाव माग्नुभएको स्रोतले जनाताटाइम्सलाई बतायो । पार्टीको सचिवालय बैठक बालाउनुअघि भएको भेटमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई ‘टिम फेर्ने निश्कर्ष’ मा आफू पुगेको जानकारी गराउनु भएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले शुक्रवार साँझ प्रमुख सल्लाहकार बिष्णु रिमालसहित सवैलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको समाचार बाहिर आएलगत्तै उहाँले प्रचण्ड र पौडेललाई यसबारे जानकारी गराई चुस्त टीमबारे सुझाव माग्नुभएको स्रोतको भनाई छ । प्रधानमन्त्री ओलीको सल्लाहकार समुहमा प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनम्पर्क सल्लाहकार अच्यूत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली हुनुहुन्छ । यस्तै सचिवालयतर्फ प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस संयोजक चेतन अधिकारी, सूचना प्रेषक रामशरण बजगाई, दीपेन्द्र दाहाल, होम थापालगायत रहनुभएको छ ।

शुक्रवार आफूले दिएको निर्देशन शनिवार नै मिडियामा आएपछि प्रधानमन्त्री ओली आश्चर्यमा पर्नुभएको थियो । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालयको टीमलाई दिएको निर्देशन यति चाँडो बाहिरिएपछि उहाँ आश्चर्यमा पर्नुभएको हो । प्रधानमन्त्री ओलीले कर्मचारीतर्फबाट चयन गरिएको सचिवालयको टीमसमेत फेर्ने जनाउ दिनुभएको छ । ‘प्रधानमन्त्रील आफ्ना सल्लाहकार र सहयोगीलाई दिएको निर्देशन २४ घण्टा नबित्दै समाचार बनेर आउने अवस्थाले उहाँ निकै चिन्तित हुनुभएको देखियो, यो घटना प्रधानमन्त्रीको बिश्वासमाथि घात हो भन्ने बुझाइ छ,’ प्रधानमन्त्री निकट एक नेताले जनताटाइम्ससँग भने ।

ती नेताका अनुसार आफूले दिएको निर्देशन समाचार बनेर आएप्छि प्रधानमन्त्री ओलीले योग्यतामाथि मात्रै होइन, गोपनीयता, इमान्दारितामा पनि अयोग्यहरु टीममा परेको महसुस गर्नुभएको छ । ‘प्रधानमन्त्रीले कामचोरहरुलाई सचेत गराउन राजीनामा माग्नुभएको थियो, समाचार नै बनेर बाहिर आएपछि त काम नलाग्ने पनि पो बालुवाटार छिरेछन भन्ने महसुस गर्नुभएको रहेछ,’ ती नेताको भनाई थियो ।