जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार ०७:४२

नेकपा सचिवालय बैठक बस्दै, यी हुन एजेण्डा


काठमाडौं कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाउनु भएको हो ।

बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखिएको छ । गत भदौं पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको बिवाद र अन्य कामका कारण हुन सकेको थिएन ।

पछिल्लो समय एकताको एजेण्डालाई धकेल्दै अन्य कामतर्फ सचिवालय बैठक केन्द्रित भएपछि सोमवार पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने मुख्य एजेण्डासहित बैठक बोलाइएको नेकपा सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

‘पार्टी एकताको बाँकी काम टुंग्याउने योजनासहित आजको सचिवालय बैठक बोलाइएको छ, अव ढिला नगर्ने निर्णय अध्यक्षद्वयले लिनुभएको छ,’ सचिवालयका ती नेताले भने । आज बिहान ९ बजे बस्ने सचिवालय बैठकका लागि महासचिव बिष्णु पौडेलले आवश्यक सवै गृहकार्य पूरा गरिसक्नुभएको छ । नेकपामा केन्द्रीय आयोग, बिभागले पुर्णता पाउन बाँकी रहेको छ । आजको बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ ।