काठमाडौं, कात्तिक २५ । राजनीतिलाई असल ढंगले सञ्चालन गर्न जानिएन भने त्यो ‘लाज’ नीतिमा परिणत हुनसक्छ । त्यस्तै अहिले काठमाडौँ महानगरपालिकाका केही जनप्रतिनिधिले गरेको राजनीति ‘लाजनीति’मा परिणत भएको त होइन भन्ने आशंका पैदा भएको छ ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार ‘अकुपाई टुँडिखेल’ अभियानको सुरुवात भयो । टुँडिखेल दिनप्रतिदिन मिचिँदै गएको, टुँडिखेलमा टहरा निर्माण र पसल सञ्चालन गर्न दिएको जस्ता नारा लगाउँदै त्यसलाई पहिलाकै अवस्थामा ल्याउनु पर्ने मागसहितका पर्चा र प्लेकार्डसहित अभियानको सुरुवात भएको थियो । अभियानको सुरुवात गर्दै–गर्दा सबैभन्दा अग्रपंक्तिमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय भिमसेनदास प्रधान र गगन थापा । अनि उहाँहरुसँगैको लहरमा हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गी पनि ।
काठमाडौँ महानगरपालिकामा हरिप्रभा उपमेयर र भाइराम वडाध्यक्ष भए पनि उहाँहरुको नाता भने काका–भतिजीको हो । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियानको सुरुवात गरेको भन्दै त्यसैदिन हरिप्रभा र भाइरामले केही मिडियालाई साक्षी राखेर पहिलाको अवस्थामा टुँडिखेल नआउन्जेल अभियान जारी राख्ने चेतावनी समेत दिनुभयो । त्यति मात्र होइन उपमेयर र वडाध्यक्ष भाइरामले खुल्लामञ्चमै उभिँएर त्यहाँबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फ रहेको दुईमाजुमा पनि टहरा निर्माण र पसल सञ्चालन गरेर टुँडिखेल कब्जा भएको भन्दै त्यो पनि फिर्ता गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘अकुपाई टुँडिखेल’ अभियान सुरु गर्नु भन्दा केही दिन अघि उपमेयर हरिप्रभा र वडाध्यक्ष भाइरामले केही मिडियालाई बोलाएर दुइमाजुको अवलोकन समेत गर्नुभएको थियो । उहाँहरुले त्यो दिन पनि केही सञ्चारमाध्ययमलाई केही दिन पर्खिने र सुनुवाई नभएर स्थानीयको सहयोग लिएर टहरा भत्काई दिने दाबी गर्नुभएको थियो । तर, लोकप्रियताका नाममा अभियानको नारा दिने अनि भित्रभित्रै भने अरु नै मिलेमतो गर्नेे भाइरामहरुको लाजनीतिको दुइमाजुमा पर्दाफास भएको छ । खड्गीकै सिफारिसमा दुई माजुमा १७ ओटा रेडिमेट कपडा र फलफुल पसल सञ्चालनमा रहेको तथ्य फेला परेपछि भने वडाध्यक्ष भाइराम र उपमेयर हरिप्रभाको राजनीति लाजनीतिमा परिणत भएको हो ।
उपमेयर खड्गी बागबजारकै बासिन्दा हुनुहुन्छ भने भाइराम पनि २८ वटाकै बासिन्दा त्यति मात्र होइन हरिप्रभा र भाइराम दुबै जना काँग्रेसकै टिकटबाट उपमेयर र वडाध्यक्ष बन्नुभएको हो । यसरी आफ्नै पार्टीका वडाध्यक्षको सिफारिसमा दुई माजुमा फलफुल पसल र रेडिमेट कपडा पसल सञ्चालनमा आउँदा समेत बेखवर जस्तो बन्ने अनि विरोध सुरु भएपछि दोष अरुलाई लगाएर लोकप्रिय बन्न खोज्ने उपमेयरको शैलीको समेत स्थानीयबाटै आलोचना सुरु भएको छ ।
रत्नपार्क र खुल्लामञ्चको बिचमा रहेको दुईमाजु वडा नम्बर २८ का वडा अध्यक्षको प्रत्यक्ष सहभागितामा मिचिएको स्थानीयहरुको आरोप छ । ‘सामान्य व्यवसाय’ मात्रै सञ्चालन गर्न पाउने गरी अमृता भट्टराईले भाडामा लिएको जग्गामा टहरा निर्माण भएको र अमृताले मरिण ठाकुर इन्टरनेसनल प्रालिलाई भाडामा दिने कुरामा समेत वडाध्यक्ष भाइरामको प्रत्यक्ष संलग्नता देखिएको छ । वडाध्यक्ष भाइरामको हस्ताक्षरसहितको २०७६ साउन १० गते लेखेको चलानी नम्बर ७१ को सिफारिस पत्रमा रेडिमेड कपडा, जुत्ता लगायतका पसल सञ्चालन उहाँको संलग्नता प्रष्ट देखिन्छ । गुठी संस्थानले २०७५ मंसिर ९ गते अमृतालाई जग्गा प्रयोग गर्न दिएको सम्झौतापत्रमा स्पष्ट उल्लेख छ । यसले पनि गुठी संस्थानसँग वडाध्यक्षसहितको मिलेमतो रहेको प्रष्ट देखिन्छ ।
टुँडिखेलमा राजनीति
टुँडिखले नजिकै रहेको दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माणको काम अहिले तिव्र गतिमा अघि बढिरहेको छ । धरहरा बन्न केही समय लाग्ने भए पनि दरबार हाइस्कुल र विर अस्पतालका भवन निर्माणको काम भने छिट्टै सकिदैँछ । दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माणको क्रममा खुलामञ्चमा थुपारिएका निर्माण सामग्री ती संरचना बनिसक्ने वित्तिकै हट्ने महानगरपालिकाले जानकारी पनि दिएको छ । तर, खुलामञ्च मिचिएको भन्दै खुलामञ्चमा राजनीति सुरु भएको छ । केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’लाई राजनीतिक रंङ नदिन सुझाव समेत दिनुभएको थियो । उहाँले अभियानका नाममा राजनीति गरेको छनक पाएपछि नै त्यस्तो अभिव्यक्ति दिनुभएको थियो ।
‘बाघ पनि कराउनु किलो पनि रित्तो हुनु’ भन्ने नेपाली उखान जस्तै ‘अकुपाईँ टुँडिखेल अभियान’मा साच्चिकै राजनीतिक रंग देखिएको छ । ‘अकुपाईँ टुँडिखेल अभियान’ धुमधामसँग सम्पन्न गर्न उपमेयर खड्गीले निकै ठूलो दौडधुप गर्नुभएको थियो । उहाँको दौडधुपलाई पूर्वमन्त्री भिमसेन दास प्रधान र गगन थापाले पनि खुलेर सहयोग गर्नुभएको थियो । अभियन्ताहरुको हवाला दिदैँ प्रधान, थापा र खड्गीले खुल्लामञ्चमा शक्ति प्रदर्शनको तयारी गरे पनि अभियानको सुरुवात गर्ने दिन भने त्यस्तो देखिएन ।
प्रधान रक्षामन्त्री रहेका बेला सेनालाई बिना नक्सा संरचना निर्माण गर्न अनुमति दिइएको सानो टुँडिखेल समेत मानव साङ्लोले घेर्ने उहाँहरुले तयारी गरेको भए पनि काँग्रेसकै कार्यकर्ताहरुले समेत उहाँहरुको उर्दिलाई लत्याएपछि उहाँहरुको त्यो योजना बालुबामा पानी सरह भएको थियो । अरु त अरु गणेशमानका पुत्र प्रकाशमानले समेत प्रधान र खड्गीको आलोकाँचो राजनीतिलाई वेवास्था गरेपछि काँग्रेसबाटै काठमाडौँ महानगपालिकाबाट जितेका अधिकांश वडाध्यक्ष समेत सहभागी भएनन् । वडा २८ का भाइराम भने प्लेकार्डसहित अग्रमोर्चामा देखिनु भएको थियो ।
त्यसो त प्रधान र खड्गीको अकुपाई टुँडिखेल अभियानको उपस्थितिलाई धेरैले ‘आफैँ धामी आफैँ बोक्सी’ भन्ने उखानको संज्ञा समेत दिएका थिए । काठमाडौं महानगरपालिका अहिले महानगरभित्रका खुल्ला स्थानहरूलाई अधिग्रहण गर्दै त्यहाँ सुन्दर पार्क बनाउने अभियानमा लागेको छ । यस क्रममा अहिले महानगरभित्र दर्जनौंँ नयाँ पार्कहरू बनाइँदैछन् । महानगरपालिकाको यो नयाँ पार्क बनाउने योजनाबाट आँतिएरै अहिले विरोधीहरू टुँडिखेलको पछि लागेको यथार्थ बुझ्न गा¥हो छैन ।
प्रतिक्रिया दिनुहोस्