जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार १८:४९

संसदीय समितिमा एकाएक आक्रोशित बने परराष्ट्रमन्त्री


काठमाडौं, कात्तिक २५ । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली भुमि कालापानी क्षेत्रलाई नेपालकै कतिपय मिडिया र बुद्धिजिविले ‘बिवादित भुमि’ भन्दै भारतको पक्षधरता लिएको भन्दै आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले आज आयोजना गरेको छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो भनाई राख्नुभएको हो ।

भारतले जारी गरेको नयाँ नक्साको बिषयमा छलफल गर्न समितिले बोलाएपछि मन्त्री ज्ञवाली परराष्ट्र सचिव शंकरदास बैरागीसहित समितिमा पुग्नुभएको थियो । सो क्रममा भारतसँग बार्ता प्रारम्भ भइसकेको जानकारी दिनुभएका मन्त्री ज्ञवालीले कालापानी क्षेत्र बिवादित नरहेको तर नेपालकै मिडिया र बुद्धिजिवी बिवादित भन्दै भारतको पक्ष लिएको भन्दै आपत्ति जनाउनु भयो । ‘कालापानीलाई कुनै मिडियाले विवादित भन्ने गरेका छन, त्यो हुँदै होइन, तथ्य र प्रमाण हामीसँग छ । नेपाली भुमि हो, यो विवादित हुँदै होइन, नसुल्झिएको हो,’ आक्रोशयुक्त स्वरमा मन्त्री ज्ञवालीले भन्नुभयो ।

विगत लामो समयदेखि नेपाल–भारतबीच हुने वार्तामा यसलाई नसुझिएको विषयका रुपमा भारतले समेत स्वीकार गरिसकेको जानकारी पनि मन्त्री ज्ञवालीले दिनुभयो । ‘नेपाल–भारत संयुक्त आयोगका प्रत्येक बैठकमा यसलाई नटुंगिएको विषयमा स्वीकार गरिएको हो,’ मन्त्री ज्ञवालीको भनाई थियो । मन्त्री प्रदीप ज्ञवालीले भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपाली भुमि कालापानी क्षेत्र फिर्ताको गराउन भारतसँग वार्ता सुरु भइसकेको जानकारी दिनुभयो । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई पारेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ । सरकारले भारतको सो नक्सा अस्वीकार्य भएको घोषणासहित भारतीय पक्षलाई जानकारी दिइसकेको छ ।

भारतको नयाँ नक्साकै बिषयमा प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले आज छलफलका लागि परराष्ट्रमन्त्री ज्ञवालीलाई बोलाएको थियो । सो छलफलमा मन्त्री ज्ञवालीले भारतसँग सम्वाद अघि बढिसकेको जानकारी गराउनु भएको हो । मन्त्री ज्ञवालीले भारतले नयाँ नक्सामा नेपाली भूमिसमेत समेटेको सन्दर्भ, उक्त भूमि नेपालकै हो भन्ने प्रमाणित गर्ने नेपालसँग भएका प्रमाण र नेपालले अब चाल्ने कदमबारे सांसदहरुलाई ‘ब्रिफिङ’ गर्नुभयो । त्यसक्रममा मन्त्री ज्ञवालीले भारतले कालापानी क्षेत्रमा अतिक्रमित गरेको नेपाली भूमि फिर्ता गराउन भारतसँग सम्वादसुरु भइसकेको जानकारी दिनुभयो । शुक्रवार मात्रै भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतीय बिदेश सचिव बिजय गोख्लेसँग भेटी नयाँ नक्साको बिषयमा नेपालको अडान राख्नुभएको थियो । सोही आधारमा मन्त्री ज्ञवालीले सम्वाद सुरु भइसकेको बताउनु भएको हो ।

‘भारतसँग हाम्रो सम्पर्क सुरु भइसक्यो, दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग कुरा थालिसकेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । राजदूत आचार्यको भेटमा भारत सिमा विवाद सुल्झाउन परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा बस्न तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । मन्त्री ज्ञवालीले परराष्ट्र सविचस्तरीय बैठकको तयारी भइरहेको जानकारी सांसदहरुलाई गराउँदै उच्च राजनीतिक तहमा वार्ता आवश्य परे त्यो काम पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जानकारी दिनुभयो । ‘आवश्यक परे उच्च राजनीतिक तहमा प्रधानमन्त्रीले पनि भारतसँग वार्ता गर्नुहुन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो ।

नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा कालापानी क्षेत्रको विवाद परराष्ट्र सविचस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भइसकेको भन्दै एकपक्षीय ढंगबाट भारतले गरेको काम मान्य नहुने दोहोर्याउनु भयो । नेपालले विवाद समाधानका लागि कूटनीति पहललाई नै प्राथमिकतामा राखेको जानकारी गराउँदै ज्ञवालीले त्यो कूटनीतिक प्रयासबाट सुल्झने विश्वास ब्यीक्त गर्नुभयो । ‘प्रमाणका आधारमा उक्त भूमि नेपाली हो भन्नेमा कुनैं दुविधा छैन, विवादलाई कूटनीतिक ढंगबाटै समाधान गर्छौं । यसबाटै समाधान हुन्छ भन्ने विश्वास पनि नेपाल सरकारको छ,’ मन्त्री ज्ञवालीको भनाई थियो ।