जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार २०:२६

माधव नेपालको निश्कर्ष : वार्ताबाट समस्या समाधान गर्दा नेपाल–भारत दुवै देशलाई फाइदा हुन्छ


काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि वार्ता गर्न टोली पठाउँदा ध्यान पुर्याउन सरकारलाई सुझाव दिनुभएको छ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आज आयोजना गरेको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री नेपालले सो सुझाव दिनुभएको हो ।

भारतले अनेकन मेचमानी खुवाएर भुलाउने गरेको इतिहास राख्दै नेता नेपालले देशको हितमा दृढताका साथ काम गर्न सक्ने योग्य पहिचान गरी बार्ताका लागि पठाउन सुझाउनु भयो । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेत राखेपछि नेपालमा भारतबिरोधी आन्दोलन चर्कदै गएको छ भने सवै दलहरु एकजुट भएर प्रतिवाद गर्ने निश्कर्षमा आइपुगेका छन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित हुनुभएको बैठकमा बरिष्ठ नेता नेपालले सरकारले यस विषयमा कूटनीति तहबाट वार्ता गर्नुपर्ने भन्दै वार्ता गर्न टोली पठाउँदा ध्यान दिनुपर्ने बिषय राख्नुभयो ।

‘एउटा कुरामा होस गर्नुहोस, मैले के सुन्ने गरेको छु भने नेपालबाट खटाइएका मान्छेहरु पारिपट्टी जान्छन, उनीहरुलाई मिठो पकवान्न खुवाउँछन, नेपाली धारणा एकदमै कमजोर बनाइदिन्छन् भन्ने मैले जैले पनि सुन्ने गरेको छु, त्यो चिज नहोस, राम्रा मान्छेको चयन गरेर पठाउनु पर्यो,’ नेता नेपालले भन्नुभयो । उहाँले संसदीय समितिको एउटा छलफलमा परराष्ट्र मन्त्रालयकै एक कर्मचारीले लिम्पियाधुरामा नेपालको हक नलाग्ने धारणा व्यक्त गरेको भन्दै कारबाही गर्न पनि सुझाउनु भयो । ‘अलिकित तलमाथि गर्छ भने त्यस्तो व्यक्तिलाई कुनै पनि विभागमा र कार्यालयमा राख्नै हुँदैन,’ नेता नेपालले भन्नुभयो, ‘संवेदनशील कुरा हो यो । परराष्ट्र र नापी विभाग दुइटै निकै संवेदनशील ठाउँहरु हुन । यस्ता ठाउँमा ती मान्छेहरु राख्नु हुँदैन ।’

नेता नेपालले सीमा विवादबारे भारतसँग वार्ता गर्दा तथ्य, तथ्यांकसहित सम्पूर्ण हिसाबले तयार भएर जान पनि सुझाउनु भयो । ‘हामी एउटा कुरा राख्दा अर्को कुरा बिर्सिन्छौं, त्यसैले कुनै पनि तहमा कुराकानी गर्दा सम्पूर्ण हिसाबले तयार गरेर, तथ्य तथ्यांकसहित तयारी गरेर जानुपर्छ,’ नेपालको भनाई थियो । उहाँले सन् २०१५ मा चीन र भारतले लिपुलेकलाई दुई देशबीचको व्यापार नाका बनाउन समझदारी गरेको विषयले पनि कालापानी क्षेत्रलाई अप्ठ्यारो पारेको बताउनु भयो । यो विषयमा चीनसँग पनि कुरा गर्न नेता नेपालले सरकारलाई सुझाव दिनुभयो ।

एउटा कुरामा होस गर्नुहोस, मैले के सुन्ने गरेको छु भने नेपालबाट खटाइएका मान्छेहरु पारिपट्टी जान्छन, उनीहरुलाई मिठो पकवान्न खुवाउँछन, नेपाली धारणा एकदमै कमजोर बनाइदिन्छन् भन्ने मैले जैले पनि सुन्ने गरेको छु, त्यो चिज नहोस, राम्रा मान्छेको चयन गरेर पठाउनु पर्यो

भारतले नेपालसँगको सिमा विवाद लम्ब्याउन भन्दा टुंग्याउनमा बढी फाइदा रहेको धारणा पनि नेता नेपालले राख्नुभयो । ‘वार्ताबाट समस्या समाधान गर्दा हामी दुइटै देशलाई फाइदा हुन्छ । विवाद टुंग्याउन भारतले पनि एउटा अवसर पाएको छ,’ नेता नेपालले भन्नुभयो । भारतले नेपालको संवदेशनशिलता नबुझेकै कारण नेपालमा भारतबिरोधी भावना बढेको आफ्नो निश्कर्ष पनि उहाँले सुनाउनुभयो । ‘नेपाली संवेदनशिलता नबुझ्ने, नेपाली जनताको संवेदनशिलता र भावना नबुझ्ने अनि यस्तै कुराले गर्दा नै नेपालीहरुको भावना भड्किँदै गयो,’ नेपालले भन्नुभयो ।