जनता टाइम्स

२५ कार्तिक २०७६, सोमबार २०:३८

श्रममन्त्री बिष्टको योजनापछि सामाजिक सुरक्षा कार्यक्रममा सघाउन उद्योग परिसंघ तयार, गर्यो यस्तो अठोट


काठमाडौ, कात्तिक २५ । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा नेपाल उद्योग परिसंघले सघाउने प्रतिबद्धता जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसँग आज भएको भेटपछि परिसंघले सघाउने प्रतिबद्धता सार्वजनिक गरेको हो।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अन्तिम समय मंसिर १४ गतेसम्म रहेको छ। मन्त्री बिष्टको योजना सुनेपछि परिसंघ सामाजिक सुरक्षामा सघाउन तयार भएको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि मन्त्री विष्टलाई हस्तान्तरण गर्नुभयो ।

परिसंघले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, विदेशी कामदारको प्रश्न, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर प्रतिवेदन तयार गरेको थियो। अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुँदा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रमलाई आकर्षक र प्रतिफलमुखी बनाउदै जान सरकार तयार रहेको बताउनु भएको थियो । नेपालको सन्र्दभमा सामाजिक सुरक्षा नयाँ कार्यक्रम भएकाले यसमा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभएको छ । भेटमा मन्त्रालयका सचिव विनोद केसी, सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवाली उपस्थित थिए। परिसंघका तर्फबाट उपाध्यक्षहरु विष्णु अग्रवाल, सुलभ अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारदा लगायत उद्यमी व्यवसायीहरुको उपस्थिति थियो।