काठमाडौं, २९ असार । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गर्नुभएको हो ।
उहाँले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याइएको बताउनुभयो ।महानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।
‘‘आगामी आर्थिक वर्षका लागि संचित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’’ उनले बजेट भाषणका क्रममा भनिन्, ‘‘नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’’
काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
‘‘पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ,’’ उहाँले बजेट भाषणमा भन्नुभयो, ‘‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।’’ अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको उहाले जानकारी दिनुभयो । ‘‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथमिकतामा राखिएको छ,’’ उहाँले भन्नुभयो , ‘‘यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः, वही, ननीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवर्द्धनमा समेत यथेष्ट बजेट व्यवस्थापन गरिएको छ ।’’
उनले आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा भएको समयसीमा भन्दा केही ढिलो भएको स्वीकार गर्नुभयो । विगतका दिनमा केही मनमुटावले ढिलो भएको पनि उल्लेख गर्नुभयो । ‘‘हामीबीच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप–प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो । समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं,’’ उहाँले भन्नुभयो, ‘‘समयमै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना व्यक्त गर्दछौं ।’’
उनले ढिलो भए पनि आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद दिइन् । ‘‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षा धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत गर्न चाहन्छु,’’ उहाँले भन्नुभयो , ‘‘जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु ।’’ उहाँले आफूहरू काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको बताउँदै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा काम अगाडि बढाउन चाहेको पनि उल्लेख गर्नुभयो । ‘‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधैँ सहकार्यको अपेक्षा राखेका छौँ,’’ उहाँले भन्नुभयो ।
[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/07/Budget-Kathmandu-Metro-1752401959.pdf”]













प्रतिक्रिया दिनुहोस्