जनता टाइम्स

२६ कार्तिक २०७६, मंगलवार १६:२३

प्रधानमन्त्रीको मुख्य सल्लाहकार बिष्णु रिमाल यथावत रहने शंकर पोखरेलको घोषणा, यस्तो छ आधार


काठमाडौं, कात्तिक २६ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शंकर पोखरेलले प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल परिवर्तन नहुने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले यस्तो घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मुख्य सल्लाहकार रिमालसहित सल्लाहकार समुह र सचिवालयमा नियुक्त भएका सवैलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो । यो समाचार बाहिरिएलगत्तै रिमालको स्थानमा मुख्यमन्त्रीबाट राजीनामा गराएर पोखरेल आउने अफवाह चलेपछि उहाँले जवाफ दिनुभएको हो ।  रिमाललाई प्रमुख सल्लाहकारबाट हटाएर पोखरेललाई ल्याइन लागेको चर्चाबीच पोखरेलले रिमालको बिकल्प रिमाल नै रहेको भन्दै प्रधानमन्त्री ओलीका अति निकट मानिनुहुने नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार रिमाल परिवर्तन हुने कुरा ‘हल्ला साबित’ हुने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री पोरखेलले नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मुख्य सल्लाहकार रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियानको भरोसायोग्य सारथी रहेको घोषणा पनि गर्नुभएको छ । ‘रिमाल समृद्ध नेपाल, सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो,’ पोखरेलले भन्नुभएको छ । केही दिनअघि प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र सचिवालयमा नियुक्त भएका सवैलाई मंसिर १ बाट लागू हुने गरी राजीनामा दिन निर्देशन दिनुभएको थियो ।