जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १६:३५

निर्माण व्यवसायीले ‘नीति तथा कार्यक्रम’को समर्थन गर्दै सार्वजनिक खरिद ऐन संसोधन गर्न माग


काठमाडौं, बैशाख २५

नेपाल निर्माण व्यवसायी संगठनले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमको समर्थन गरेको छ ।बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समृद्धिको आधार समातेको भन्दै समर्थन गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका संयोजक यक्षध्वज कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विगतमा घोषणा गरेका कार्यक्रमहरुलाई सम्पन्न गर्नेतिर आकर्षित गर्ने देखिएको बताउनु भएको छ । उहाँले भन्नु भयो‘सरकारले ल्याएको नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारको विकासतर्फ विशेष ध्यान दिईएको हामीले महशुस गरेका छौं । नीति तथा कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ ।’

संयोजक कार्कीले सार्वजनिक खरिद ऐन–२०६३ र नियामावली–२०६४ लाई संशोधन गर्नुपर्ने बताउनु भएको छ । निर्माण व्यवसाय ऐन–२०५५ र नियमावली–२०५६ हालसम्मपनि संशोधन नभएकोमा गुनासो पोेख्दै कार्कीले भन्नुभयो,‘ती दुवै ऐन र नियामावली तत्काल संशोधन गर्नुपर्छ । र, निर्माण व्यवसाय विकास परिषदको पूर्नसंरचना गर्नुपर्छ । यसको संरक्षक प्रधानमन्त्री र अध्यक्ष भौतिक पूर्वाधार मन्त्री रहनुपर्छ । त्यस्तै, यो परिषदमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्छ ।’