जनता टाइम्स

३० असार २०८२, सोमबार १६:२३

स्वास्थ्य बिमा क्षेत्रमा पुनर्विचार गरिनेछ : प्रधानमन्त्री ओली


काठमाडौं, ३० असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा कार्यक्रमको औचित्य र प्रभावकारितामा पुनर्मुल्याङ्कन गरिने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सवको अवसरमा  साेमबार आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमा कार्यक्रममार्फत कतिपय अवस्थामा दुरुपयोग भएको देखिएको उल्लेख गर्दै सो कार्यक्रमको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बिमा कार्यक्रम राम्रो उद्देश्यले ल्याइएको हो, तर कतिपय कामबिच त्यस्ता पनि छन्, जसले कार्यक्रमको मर्ममै प्रश्न उठाएका छन्, त्यसैले औचित्य पुष्टि हुने गरी बिमा प्रणालीमा पुनर्विचार गरिनेछ ।’

प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालले नेपाली जनताको सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्तो सार्वजनिक शिक्षण संस्था चिकित्सा शिक्षाका साथै गुणस्तरीय सेवा प्रदान गर्ने उदाहरणीय केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षण अस्पतालले दक्ष जनशक्ति उत्पादनमा योगदान दिएको छ, अब यसले उपचार सेवा र अनुसन्धानको क्षेत्रमा पनि उच्चतम लक्ष्य हासिल गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले आफूले दुई पटक मिर्गौला प्रत्यारोपण यही अस्पतालमा गराएको स्मरण गर्दै नेपालमै यस्ता जटिल सेवा सम्भव भएको र हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार यदि सार्वजनिक संस्थाहरूले आफ्नो दायित्व इमानदारीपूर्वक वहन गरे भने  देशमा उत्कृष्ट स्वास्थ्य सेवा सम्भव छ ।

उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको भूमिकाको पनि विशेष प्रशंसा गर्नुभयो । ‘चिकित्सकले औषधिको निर्धारण गर्छन् तर नर्सको हातमा उपचारको जादु हुन्छ, नर्सकाे मृदु बोली, व्यवहार र सहानुभूतिको स्पर्शले बिरामीमा आशा जगाउँछ, औषधि ठिक समयमा, ठिक मात्रामा खुवाउने, बिरामीको मनोबल उठाउने काम नर्सकै हो’, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालमा सेवा र समर्पणका आधारमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्नुभयो । यस्तै, शिक्षण अस्पतालमा नवनिर्मित विस्तारित सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो । उहाँकै सक्रियतामा निर्माण भएको उक्त भवनको आजै प्रधानमन्त्री ओलीबाट उद्घाटन गरिएको थियो ।