काठमाडौं, असार ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको छ ।
सिआइवी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) चन्द्रकुवेर खापुङले मंगलवार एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा स्पेन घटनाको छानविन समिति गठन गर्नुभएको हो । बोगटी नेतृत्वको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।
एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले डाकेको बैठकमा स्पेनमा भएको भनिएको मानव तस्करीका विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाउने बिषयले प्रवेश पाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली स्पेनको सेभियामा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्’ कार्यक्रममा सहभागी हुन १४ असारमा स्पेन प्रस्थान गरेको थियो । कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओलीसहितको सरकारी टोली असार २० गते फर्किएको थियो ।
प्रधानमन्त्रीसहितको सरकारी टोलीकै भ्रमण आसपास दुई सातामा अस्वाभाविक रूपमा ८२ जना स्पेन पुगेको र अरू ५५ जना गन्तव्य मुलुक जान नपाई विमानस्थलबाटै फिर्ता भएकामा ‘सरकारी संयन्त्र प्रयोग गरेर संगठित गिरोहले मानव तस्करी गरेको’ आशंका गरिएको छ ।
स्पेन लगेर उतैबाट युरोपका पोर्चुगललगायत मुलुक छिराउने र त्यसबापत गिरोहले मोटो रकम असुल्ने गरेका विवरण पनि यसअघि बाहिरिएको थियो । स्पेनमा रहेका केही आपराधिक गिरोहले यसपटक पनि लगेको देखिएपछि छानविन अघि बढाइएको हो ।













प्रतिक्रिया दिनुहोस्