जनता टाइम्स

३१ असार २०८२, मंगलवार १७:५०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त


काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त हुनुभएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मंगलबार मन्त्री पदमा नियुक्त गर्नु भएकाे हाे । यसअघि घुस ‘डिल’ सम्बन्धी अडियो काण्डमा मुछिएपछि आजै राजीनामा दिनुभएका मन्त्री राजकुमार गुप्ताको स्थानमा उहाँलाई नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत न्यौपानेको नियुक्तिबारे जानकारी गराएको छ।

न्यौपाने हाल राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतकको भूमिकामा हुनुहुन्थ्याे । एमाले नेतृ न्यौपाने हाल राष्ट्रियसभा सदस्य तथा विधायन व्यवस्थापन समितिको सदस्य हुनुहुन्छ ।

आज राजीनामा दिनुभएका राजकुमार गुप्ता भ्रष्टाचारसम्बन्धी अडियो काण्डमा मुछिएपछि चौतर्फी आलोचना खेप्दै आउनुभएकाे थियाे। साेही कारणले उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे ।

न्यौपानेको नियुक्तिसँगै एमालेले महिलालाई नेतृत्वमा अगाडि सारेको सन्देशसमेत दिएको  छ।  संगठनमा लामो अनुभव र विधायन प्रक्रियाको राम्रो बुझाइ भएकी न्यौपाने मन्त्री भएपछि संघीय प्रशासन सुधारमा सक्षम रहने विश्वास गरिएको छ।