जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार १६:१९

प्रधानमन्त्री केपी ओलीको निश्कर्ष : शेरबहादुर देउवा सबैभन्दा निकट र विश्वासिला, प्रचण्ड धोकेबाज


काठमाडौं, १ साउन ।  नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताउनुभएको छ ।

वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उहाँले यस्तो बताउनुभएको हो। यसैगरि, पूर्वसहकर्मी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने उहाँदले ‘धोकेबाज’ का रुपमा चित्रण गर्नुभयो । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गर्नुभयो ।

‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बिचमा छ,’ ओलीले भन्नुभयो , ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ।’ उहाँले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गर्नुभयो ।

दाहालसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो, उहाँले पनि धेरै पल्ट भन्नुभएको हो, धेरै पल्ट धोका दिनुभएको हो’, उहाँले दाहालसँग पटक–पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको बताउनुभयो ।

आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गर्नुभयो । आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको स्वीकार गर्नुभयो । उहाँले आफूलाई घेर्ने मानिसहरू (सर्कल) छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गर्नुभयो। ‘सर्कल भनेको मैले विश्वास गरेको निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ,’ उहाँले भन्नुभयो, ‘अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु।’