जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार १७:०४

‘एकता भनेको त भ्रष्टाचारीबीचको चुप्पाचुप्पी र अंकमाल पो रैछ’


काठमाडौं, साउन २ । बहुमतको सरकार रोक्न बिदेसी ग्य्राण्डडिजाइनमा नेकपा एमाले विभाजन गरेको किटानीमा परेका दुई नेता माधवकुमार नेपाल र बामदेव गौतमबिच पुनर्मिलन भएको छ । काठमाडौंमा आज विशेष तामझामका साथ कार्यक्रम आयोजना गरी बामदेव नेकपा एकीकृत समाजवादीमा समाहित भएसँगै ‘पार्टी विभाजनका खलनायक’ को उपमा पाउनु भएका माधव र बामदेवको मिलन भएको हो ।

आजभन्दा २८ वर्षअघि माधव र बामदेवबिच पदको लडाइँ नमिल्दा पार्टी नै विभाजन भएको थियो । सरकार र पार्टी दुवैतिर मुख्य जिम्मेवारी लिएर ‘कम्युनिष्ट शासन मेरो लागि खातैखात’ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएका तत्कालीन महासचिव माधवले खडा गरेको उपमहासचिव बामदेवले माधवकै पद खान खोजेपछि माधवले खोसिदिनु भएको थियो ।

बामदेव त गद्दार रहेछ भन्दै ठाडो प्रस्तावमा उपमहासचिव खाइदिएपछि बामदेवले आफैले प्रस्ताव गरेको महाकाली सम्धी त राष्ट्रघाती हो भन्दै पार्टी फुटाउनु भएको थियो । बामदेवको उपमहासचिव र माधवको महासचिव बाँचुञ्जेल भन्ने लडाइँले २०५४ सालमा पार्टी विभाजन भयो । बामदेवलाई त्यस बेला बोराका बोरा पैसा दिए कांग्रेस नेता स्वर्गीय खुमबहादुर खडका र गिरिजाप्रसाद कोइरालाले पार्टी विभाजनमा उक्साउनु भएको थियो भने भारत तिरै मिलेर महाकाली सन्धिको विरोधको गर्नुभएको थियो ।

बामदेव पछि पछुतो मान्दै फिर्ता भएपछि माधवसँगका दोस्ती निकै बढ्यो । तर सातौँ महाधिवेशनमा पुगेपछि टिकेन । आठौँमा झालनाथतिर लाग्नुभयो । नवौँमा केपी ओलीतिर उभिएर वरिष्ठ उपाध्यक्ष पद हत्याउनु भयो । नेकपा बनेपछि बामदेव र माधव दुवैले दक्षिणतिरबाट उर्लिएको राष्ट्रवादको झण्डा बोकेर एकता तोडेर अलग अलग दोकान चलाउन थाल्नुभएको छ । यही दोकान नचल्ने भयो भनेर अहिले बाजेको पेडा पसलमा असली बाजेको पेडा पसल भन्ने थपे जसरी दुवै जना शुक्रवारबाट एक हुनुभएको छ ।

उहाँहरूको यो मिलन हेरेपछि माधवको इमोशनल ब्ल्याकमेलिङको सिकार भएर त्यता लागेका र नेकपा एमालेमा आउँछु भन्दा पनि नभित्र्याएका पुराना नेताहरू तीन छक परेका छन् । एकता समारोहमै उनीहरूले ‘समाहित भनेको त भष्टाचारीबीच चुप्पाचुप्पी र अङ्कमाल पो रहेछ’ भन्दै कान फुकाफुक गरिरहेका थिए । उनीहरूले बामदेवलाई माधव नेपालले टुँडिखेलबाटै एक नम्बरको भ्रष्टाचारी भनेर घोषणा गर्न लगाएको र माधवलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको प्रसङ्ग निकालेर यस्तो व्यङ्ग्य गरेका हुन ।

नेकपा एमालेमा आउन चाहनुभएका बामदेवलाई च्यासलले ढोका बन्द गरेपछि माधवको शरणमा जानुभएको हो । माधवमाथि पनि भ्रष्टाचार मुद्दा लागेको कारण अव अध्यक्ष हुने हो भन्दै बामदेव त्यतातिर हुत्तिएको उहाँ निकटकै बुझाइ छ ।