एमाले केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले आगामी महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व किटान गरेर जानुपर्ने निश्कर्ष सुनाएका छन् भने अध्यक्षकै विषयमा अफवाह फैलाउने र पूर्वराष्ट्रपतिको अपमान हुने गरी मानमर्दन गर्न नहुनेमा जोड दिएका छन ।
काठमाडौं, साउन ६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा खुलेर छलफल अघि बढेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको साँगठानिक प्रतिवेदनसहित उपाध्यक्ष बिष्णु पौडेलको बिधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कन हुने कि नहुने भन्ने बिषयमा केन्द्रीय सदस्यहरुले खुलेर आफ्नो धारणा राखेका हुन ।
सोमवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म १ सय २० भन्दा बढी केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन । सोमवार ४९ जनाले आफ्नो धारणा राखेकोमा मंगलवार थप सदस्यले धारणा राखेका हुन् । केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्दीय सदस्यले सुझाव राख्ने क्रम जारी रहेको छ ।
प्रचार प्रमुख गौतमले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनसहित पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन हुने कि नहुने भन्ने विषयमा गम्भीर रुपमा छलफल भएको छ भने सुझाव दिने सदस्यहरुले खुलेर आफ्नो धारणा राखेका छन ।
बैठकमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरु गोकुल घर्ती, इन्द्रलाल सापकोटा, शान्ता चौधरी, महेश बर्ताैला, मनकुमारी जिसी, निर्मला दवकोटा, अम्बिका थापा, कमलाकुमारी बोहोरा बस्नेत, दयालबहादुर शाही, नविना लामा, कमलादेवी महतो र किशोरबिक्रम मल्लले पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको निश्कर्ष सुनाउनु भयो ।
यस्तै आनन्दप्रसाद पोखरेल, कैलाश ढुंगेल, डाक्टर कृष्णबहादुर केसी, गुमादेवी आचार्य, टसी स्हाङमो गुरुङसेनी, दयालबहादुर शाही, भीमबहादुर कार्की, दल रावल, नगिन्द्र शाही नेशनल, पार्वती रावल, बिमला अर्याल, भारती पाठक, मोहम्मद हारुन हलुवाई, मञ्जु भण्डारी सुवेदी, मेनुका काफ्ले, युवराज बाँस्कोटा, रमेश पौडेल, लक्ष्मी गौतम, बिनादेवी राई, शान्ति अधिकारी, शीला यादव, सकुन्तला बस्नेत, डा. सूर्य पाठक, दीपक कार्की, तुलसीप्रसाद न्यौपाने, गीता कार्की, इश्वरी घर्तीमगर, अमृता सुब्बालगायतले ओलीको बिकल्प खोज्ने कुरा एमालेमा कसैले गर्न नहुने बताउनु भयो ।
बैठकमा आनन्द पोखरेल, कैलाश ढुंगेल, युवराज बाँस्कोटालगायतका नेताहरुले भने अध्यक्षमा ओलीको बिकल्प नभएको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेको र सदस्यतासमेत नविकरण भइसकेको भन्दै अध्यक्षले उहाँसँग छलफल गरेर टुंगो लगाउनु पर्ने थप सुझाव दिनुभएको थियो । यस्तै बैठकमा केन्द्रीय सदस्य रमेश पौडेलले नेताहरुले पार्टीलाई सही दिशामा लैजाने आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सोच्नुपर्ने भन्दै हरेक कमिटीमा युवालाई स्थान दिने कुरामा जोड दिनुभएको छ ।
आजको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु अध्यक्ष ओलीको पक्षमा उभिएका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई निवासमै पुगेर पार्टीमा सक्रिय हुनुपर्ने सुझाव दिने केन्द्रीय सदस्यहरु समेत बैठकमा यूटर्न भएका छन् । केन्द्रीय कमिटीमा बहुमत सदस्य राष्ट्रपतिको मर्यादा कायम राख्न राजनीतिमा फर्कन नहुने अडान देखेपछि आफ्नो पद खतरामा पर्ने महसुस गरी पूर्वराष्ट्रपतिको बिपक्षमा खडा भएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधानको संरक्षक र नेपाली सेनाको परमाधिपति रहिसकेको र राष्ट्रप्रमुखको रुपमा अत्यन्तै उत्कृष्ट काम गरेको राष्ट्रपति पार्टी राजनीतिमा फर्कने कुरा उचित नभएको धारणा नै अधिकांश केन्द्रीय सदस्यको रहेको बताउनु भयो । उहाँले सदस्यहरुको सुझावकै आधारमा बैठकको समापनको क्रममा अध्यक्ष ओलीले निर्णय सुनाउने जानकारी पनि दिनुभयो ।
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पनि पूर्वराष्ट्रपतिको बिषयमा खुला खुलस्त धारणा राखेपछि केन्द्रीय सदस्यहरु उहाँकै लाइनमा उभिएका हुन् । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति बिद्या भण्डारीसँग कुनै मतभेद नरहेको प्रष्ट पार्दै उहाँसँग खुला खुलस्त कुरा भएको र राजनीतिमा फर्कन नमिल्ने जानकारी आफूले गराएको बताउनु भएको थियो ।
‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको’ अध्यक्ष ओलीको भनाई थियो । यस्तै अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षले बैठकमा बोल्दै नबोलेको कुरा ‘उमेर हदमा जेल बसेको समय कटाउनु पर्छ भन्यो भन्ने कुप्रचार कस्ले गर्यो ? त्यस्को छानविन गरी कार्वाही हुनुपर्ने’ अडानसमेत राखेका छन् ।
त्यस्ता अनुशासनहीन बयानबाजी र गतिविधि कडाईका साथ रोक्नुपर्ने र अफवाह फैलाउने कुरा स्वीकार्य नहुने उनीहरुको अडान रहेको थियो । यस्तै बैठकमा संविधानअनुसार निर्वाचन क्षेत्रीय कमिटी र पालिका कमिटीलाई कार्यकारी बनाउनु पर्ने सुझावसमेत अधिकांशले दिएका छन । केन्द्रीय सदस्यहरुले विधानमा पदाधिकारीको आकार घटाएकोमा असन्तुष्टि जनाउँदै कम्तीमा १९ कायम गर्नेपर्ने धारणासमेत राखेका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले आगामी महाधिवेशनबाट पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व किटान गरेर जानुपर्ने निश्कर्ष सुनाएका छन भने अध्यक्षकै विषयमा अफवाह फैलाउने र पूर्वराष्ट्रपतिको अपमान हुने गरी मानमर्दन गर्न नहुनेमा जोड दिएका छन् ।













प्रतिक्रिया दिनुहोस्