काठमाडौं, साउन १४ । प्रधानमन्त्री कार्यालयले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पालामा भन्दा एकतिहाई खर्च घटाएको छ । एक बर्षको अवधीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सो परिमाणमा खर्च कम गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निकायमा खर्च कम गर्ने नीतिसहित पहिलो बैठकमै अनावश्यक खर्च नगर्न कडाईका साथ निर्देशन दिएअनुरुप एक बर्षको अवधीमै अघिल्लो प्रधानमन्त्रीको पालामा भन्दा २ करोड रुपैयाँले खर्च घटाइएको हो । नेकपा एमालेका अध्यक्ष ओली गत बर्षको असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भई असार ३१ गतेबाट कार्यभार सम्हाल्नुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष (२०८०/०८१) को तुलनामा यो आर्थिक बर्ष २०८१/०८२ मा २ करोड ७ लाख रुपैयाँ कम खर्च भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आर्थिक बर्षमा ४ करोड १४ लाख ७० हजार ८ सय ७३ रूपैयाँ खर्च भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बिवरणअनुसार प्रचण्ड प्रधानमन्त्री भएको बेला आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १ सय २७ रूपैयाँ खर्च भएको पाइएको छ ।
प्रचण्डको कार्यकालको तुलनामा ओलीको कार्यकालमा २ करोड ६ लाख ६४ हजार २५३ रूपैयाँ कम खर्च भएको हो । यो ३३.२६ प्रतिशतले कम खर्च हो । प्रचण्डको कार्यकालमा वैशाखदेखि असारसम्म तीन महिनामा मात्र २ करोड २५ लाख १८ हजार ४५ रूपैयाँ खर्च भएको थियो । तर ओलीको कार्यकालमा सोही अवधीमा १ करोड ३३ लाख ६२ हजार ९८६ रूपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार यसपटक पारिश्रमिकमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ, पोशाकमा ५ लाख ३९ हजार ९० रूपैयाँ, सञ्चार महसुलमा ६० हजार रूपैयाँ, इन्धनमा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च भएको छ । यस्तै सवारी साधन मर्मतमा ५७ लाख २२ हजार ९७६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा १४ लाख ३६ हजार २९८ रूपैयाँ, अनुगमन मूल्यांकनमा ३३ लाख ५२ हजार ३०५ रूपैयाँ र विविधमा १ करोड २४ लाख १ हजार ५३७ रूपैयाँ खर्च भएको छ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ, पोशाकमा ४ लाख ८८ हजार २१० रूपैयाँ, सञ्चार महसुलमा ७९ हजार रूपैयाँ, इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च भएको थियो । पारिश्रमिकमा मात्रै प्रचण्डको पालामा ७६ लाख रुपैयाँले बढी हो ।
त्यसैगरी, सवारी साधन मर्मतमा ५९ लाख ५० हजार ९२६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ५१ लाख रूपैयाँ , अनुगमन मूल्यांकनमा २१ लाख ९४ हजार ९६१ रूपैयाँ र विविधमा १ करोड ६९ लाख १३ हजार ८८९ रूपैयाँ खर्च भएको थियो । प्रधानमन्त्री कार्यालयले खर्चमा उल्लेख्य कमी ल्याएपछि प्रचण्डको पालामा देशमा लुट नै चलाइएको तथ्य पनि उजागर भएको छ ।














प्रतिक्रिया दिनुहोस्