काठमाडौं, १४ साउन । शिशुलाई लगातार ६ घन्टासम्म मुखबाट अक्सिजन दिएर उनको ज्यान बचाउने बैतडीकी स्वास्थ्यकर्मी जानकी पुजारालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले धन्यवाद दिनुभएको छ ।उहाँले अनमी पुजारालाई टेलिफोन गरेर धन्यवाद दिनुभएको हो ।
बुधबार अपरान्ह ५ बजेतिर पुजाराको फोनमा नचिनेको नम्बरबाट फोन आउँदा उहाँ छक्क पर्नुभयो। सिगास गाउँपालिका-४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा काममा व्यस्त पुजारा मन्त्रीको फोनपछि अक्कबक्क पर्नुभयो ।
स्वास्थ्य मन्त्री पौडेलले उहाँको कामको प्रशंसा गर्दै धन्यवाद दिनुभयो। ‘बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय काम गर्नुभएको छ। यो देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ,’ मन्त्री पौडेलले पुजारालाई भन्नुभयो।
मन्त्रीको प्रशंसापछि पुजाराले उहाँलाई धन्यवाद दिनुभयो । बिहीबार राति २० वर्षीया महिलाले जन्म दिएकी शिशुको श्वास निकै सुस्त चल्न थालेपछि पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्