जनता टाइम्स

२८ कार्तिक २०७६, बिहीबार १५:५८

समाजवादी पार्टी सरकारको हिस्सा बनिरहने, सरकार नछोड्ने निर्णय


काठमाडौं, कात्तिक २८ ।  समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकिकरण पश्चात बनेको समाजवादी पार्टीको बिहीबार बसेको पहिलो संघीय परिषद् बैठकले सरकार नछोड्ने निर्णय गरेको हो ।

विगत केहि समयदेखी समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराई खेमाले सरकार छाड्नु पर्ने विचार मिडियामा चुहाएको थियो । हाल सरकारमा सहभागी मन्त्रीहरु भने, तत्काल सरकार नछाड्ने पक्षमा रहेका थिए । आजको बैठकमा डा। बाबुराम भट्टराइले लगेको मध्यमार्गी प्रस्ताव अनुसार केहि समय सत्तारुढ दललाई कुर्ने र संविधान संशोधनको लागि दबाब दिने नीति लिएसँगै तत्कालको लागि संकट टरेको हो ।
केहि समयदेखी समाजवादी पार्टी र राजपाबीच एकता प्रकृया चलिरहेको समयमा सरकारबाट समाजवादी पार्टी बाहिरीदा राजपासँगको एकता भाडिन सक्ने आशंकाको कारण डा। भट्टराईले मध्यमार्गी प्रस्ताव ल्याएको मानिएको छ ।

सत्तारुढ दलले केहि समयदेखी मन्त्रीपरिषद पूर्नगठनमा समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा हुने निर्णयलाई पर्खदैं आएको थियो । समाजवादी पार्टी सरकारबाट हटेको खण्डमा राजपालाई सत्तारुढदलले सरकारमा सहभागी गराउने सम्भावना देखिनासाथ समाजवादी पार्टीले मध्यमार्गी प्रस्ताव पारित गर्न बाध्य भएको हो । यस सँगै एकाध दिन भित्रैमा मन्त्रीपरिषद पूर्नगठन हुने मानिएको छ ।