जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार १०:१७

यसकारण जरुरी छ एमालेलाई केपी ओलीकै नेतृत्व


आज केपी ओलीमाथि भइरहेको हमला भनेको सिंगो एमालेमाथिको हमला हो, देशभक्तहरू माथिको हमला हो । यो सत्यलाई बुझिसकेपछि अव एमालेजनहरू पार्टी अध्यक्षमाथि लगाइएका आरोप र हमलाविरुद्ध खरो ढङ्गले प्रतिरक्षामा उत्रिनु पर्दछ । भेटन पाइएन, भनेको चिज पाइएन भनेर मन बहकाउने होइन, देश बन्ने भयो, हामी सकिने भयौं भनेर कतिपय ससाना स्वभावजन्य मानवीय कमजोरी औंल्याएर केपी ओलीलाई खुलाउने कामहरू पनि निरन्तर हुँदै आइरहेका छन । हाम्रो नेतृत्वको हजारौं सबल पक्षहरू छन् । जसलाई हामीले नजरअन्दाज गर्नु अन्यायपुर्ण हुन्छ ।

टिका पौडेल

हुनतः अहिले नेकपा (एमाले) को विधान महाधिवेशन नजिक आइरहेको छ । यो विधान महाधिवेशन भनेको पार्टी परिचालन सम्बन्धी विधि वा नीति बनाउने थलो हो । यो बेला विधि वा नीतिकै विषयमा व्यापक बहश, छलफल हुनुपर्ने, गर्नुपर्ने हो । अन्ततः नीति निर्माणसंग नेतृत्व निर्माणको कुरा पनि जोडिन थालेको छ । पार्टीभित्र, बाहिर, बजारमा, टोलटोलमा, चोकचोकमा, चिया पसलमा समेत एमालेको नेतृत्वको विषयमा बढी चासो, चर्चा, परिचर्चा, बहश, छलफल हुने गरेको छ ।

आज किन एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आम चासो बन्ने गरेको छ ? किन एमालेको मुल नेतृत्व र एमालेविरुद्ध चौतर्फी हमला हुने गरेको छ ? किन केपी ओलीबिनाको एमाले बनाउन खोजिएको छ ? यसका सारपक्ष के हुन ? भन्ने आम जनचासोको विषय बनिसकेको हुँदा त्यसैको सेरोफेरोमा रहेर केहीकुरा लेख्न खोजिएको छ ।

बास्तवमै अहिले नेकपा (एमाले) एउटा युद्धकालीन अवस्थामा छ । एमाले सिध्याउन, कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियाबादिहरू साम, दाम दण्ड, भेदको रणनीति बनाएर पार्टी अध्यक्ष केपी ओली र एमालेबिरुद्ध लागिरहेका छन । एमाले कमजोर बनाउन सकेमात्र नेपालमा आफूहरूले चाहेको काम गर्न सकिन्छ भन्ने निश्कर्षमा छन । सिंगो नेपाललाई कमजोर बनाउन सक्छन । त्यसैले उनीहरूले प्रमुख बाधक एमालेलाई देखेका छन । त्यही भएर एमालेमाथि चौतर्फी हमला गरिरहेका छन ।

केपी ओली र एमालेबिरुद्धमा बिष बमन गरिरहेका छन । सामाजिक सञ्जालमार्फत मिथ्या कुप्रचार गरिरहेका छन । गोयबल्स शैली अबलम्बन गरिरहेका छन । यस्तो युद्धकालीन समयमा केपी ओली रणकौशलताका साथ युद्धभुमिमा युद्धको नेतृत्व गर्ने मात्र नभई एउटा युवा सैनिक सरह अदम्य साहसका साथ लडिरहनुभएको छ । आफ्नो कुटनितिक चातुर्यताले एमालेविरुद्धको पाँच दलीयको गठबन्धनको घेराबन्दी तोड्दै राजनीतिक चक्रव्यूँहलाई समेत परास्त गर्दै आउनुभएको छ केपी ओलीले ।

आन्तरिक र वाह्य दुबै हमला र चुनौतीलाई दृढताका साथ सामना गर्दै आउनुभएको छ । आफ्ना गुमेका आधार ईलाका कब्जा गर्दै, पार्टीभित्रको आन्तरिक द्धन्द र नेकपा विघटन पश्चात अरूको कब्जामा पुगेको एमालेलाई जनमतको आधारमा पुनः देशकै पहिलो लोकप्रिय पार्टी बनाउन सफल हुनुभएको छ । केपी ओलीको बहुआयामिक क्षमता अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको शान बनेको छ । स्वाभिमान बनेको छ । छिमेकी देशको हेपाहा, मिचाहा प्रबृत्ति र ब्यबहारको खण्डन र खबरदारी गरिरहेको छ ।

तथ्यले नै बताइसकेको छ कि २०७२ सालको संविधान निर्माणकालमा केपी ओलीको प्रभावकारी भुमिका रह्यो । संविधान निर्माणमा भारतले गरेको हस्तक्षेपलाई केपी ओलीले ठाडै अस्वीकार गरे । नेपालमाथि भारतले लगाएको नाकाबन्दीबिरुद्ध नाकाबन्दी नहटाएसम्म भारत भ्रमण नगर्ने देशभक्तिपुर्ण राष्ट्रवादी अडानले भारतलाई नेपाल समक्ष झुक्न बाध्य बनायो । भारतीय दादागिरी तोडियो । केपी ओलीकै कारण भारतको बडेभाईको घमण्डलाई तोडेर समकक्षीको ब्यबहार गर्न बाध्य बनायो । सानो देश भनेर भारतले नेपालप्रति गर्ने हेपाहा प्रवृत्तिको विरुद्ध पहिलो पटक भोगौलिक रूपमा देश सानो वा ठुलो हुनसक्छ तर हरेक देशको सार्वभौमसत्ता समान हुन्छ भन्ने सन्देश प्रवाह गरे ।

नेपालीको स्वाधीनता र सार्बभौमिकताको रक्षा गरी राष्ट्रिय एकताको माध्यमबाट लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा जारी गरे । अरूको भुमिमा गिद्धेदृष्टि लगाउने मित्रराष्ट्र भारतलाई लक्षित गर्दै तिमी सिंहमेव जयते हौकी ? सत्यमेव जयते हौ ? भनेर प्रश्न गरे । यसरी राष्ट्रियता र सार्वभौमसत्ताप्रतिको अडानले पनि केपी ओलीको राष्ट्रप्रेम र देशभक्तिपुर्ण भावना प्रतिबिम्बित भएको देखियो । जो अरु प्रधानमन्त्रीहरूमा कहिल्यै देखिएको थिएन ।

केपी ओलीकै कारण नेपालको भुपरिबेष्ठित अवस्थालाई भुजडित अवस्थामा रूपान्तरित गरियो । पृथकतावादी र बिखण्डनबादीहरूलाई राष्ट्रियताको मुलधारमा ल्याउन सफलता मिल्यो । मधेशबादी दलहरूलाई राष्ट्रिय राजनीति र संबिधानको दायराभित्र ल्याउन सफलता मिल्यो । हिंसात्मक गतिविधिमा लागेकाहरूलाई शान्तिपूर्ण बाटोमा अवतरण गराइयो । उनीहरूलाई संविधानको मुलधारमा ल्याइयो । चीनसँगको सम्बन्धलाई विस्तार गरियो । चीनसँग यातायात तथा पारवहन सन्धि गरेर नेपाललाई सधैको लागि नाकाबन्दीमुक्त देश बनाइयो । प्रतिगामी तथा पुनरुत्थानबादीहरूले चिहानमा पुगेको राजतन्त्रलाई पुनःस्थापित गर्छौं भनेर शुरू गरेको निर्णायक आन्दोलनलाई निष्कृय बनाउन सफलता मिल्यो । आजको युगमा फेरि राजतन्त्र होइन, सुदृढ गणतन्त्र र समुन्नत लोकतन्त्र हो भन्ने विषयलाई स्थापित गर्न सफल बने ।

केपी ओलीले मूर्छित सपनालाई जागृत बनाउँदै, देश बन्छ हाम्रै पालामा भन्ने आशाबादी सन्देश प्रवाह गर्दै आएका छन । प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउन सफल बनेकाछन । नेपालको दिगो विकास र आत्मनिर्भरतातर्फ महत्वपूर्ण कदम चालेका छन । केपी ओलीकै भिजनले देशको बिकास र समृद्धिको खाका कोरेको छ । समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना गर्दै योजना बनाएको छ । जस्तोसुकै आँधी तुफानरूपी कठिन परिस्थितिमा पनि सतिसाल जस्तै ठिङग उभिएको छ । पार्टीपङ्तीको मनोबल उच्च बनाउँदै आएका छन । पार्टीभित्र अन्तरपार्टी संघर्ष गर्ने होइन, अब अन्तरपार्टी एकता बनाई सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्दछ भन्दै नयाँ परिभाषासहितको सन्देश प्रवाह गरेको छ ।

आफ्नो जीबन र स्वास्थ्य भन्दा पनि देशको स्वास्थ्य अवस्थाको बारेमा चिन्ता र चासो लिदै आएको छ । देश बनाउने सपना बोकेको छ । नयाँ युगको शुरुवात गर्ने नेता भनेर चिनिएको छ । अनि क्षमतालाई उमेरले छेक्दैन भन्ने प्रमाणित गरेको छ । केपी ओलीसँगको बहुप्रतिभाशाली असाधारण क्षमता, त्याग, समर्पण र योगदानदेखि हरेक विषयमा गहिरो अध्यन, त्यससम्बन्धी अद्भुत ज्ञान, दूरदर्शी भिजन केपी ओलीका विशेषता हुन । अर्को अर्थमा भन्दा केपी ओली युगले जन्माएको युगपुरूष हुन ।

यिनै महाननेता केपी ओलीका दूरदर्शी सपना र योजना आज हाम्रो देशमा अन्य राजनीतिक दलका घोषणा पत्रमा समेत समावेश बनिसकेका छन । केपी ओलीले राष्ट्र र जनताको हितमा गरेका राम्रा कामहरूदेखि असाधारण क्षमता र राष्ट्रबादी अडानले गर्दा आज एमालेको सेन्ट्रल टावरमाथि हमला भइरहेको छ । केपी ओलीको बहुआयामिक क्षमता र कामले प्रतिक्रियावादीहरूको निदहराम गरेको छ ।

आज केपी ओलीमाथि भइरहेको हमला भनेको सिंगो एमालेमाथिको हमला हो, देशभक्तहरू माथिको हमला हो । यो सत्यलाई बुझिसकेपछि अव एमालेजनहरू पार्टी अध्यक्षमाथि लगाइएका आरोप र हमलाविरुद्ध खरो ढङ्गले प्रतिरक्षामा उत्रिनु पर्दछ । कतिपय ससाना स्वभावजन्य मानवीय कमजोरी औंल्याएर केपी ओलीलाई खुलाउने कामहरू पनि निरन्तर हुँदै आइरहेका छन । हाम्रो नेतृत्वको हजारौं सबल पक्षहरू छन् । जसलाई हामीले नजरअन्दाज गर्नु अन्यायपुर्ण हुन्छ ।

तसर्थ अहिलेको वर्तमान बिषम परिस्थितिमा पार्टी नेतृत्व को हुने ? को बन्ने ? कसलाई बनाउने ? भन्ने विषय पार्टीको एघारौं महाधिवेशनले निर्णय गर्ने विषय हो । तर पनि आम चासोको बिषय भएकोले थोरै प्रवेश गर्न चाहान्छु । अहिले सेनापती परिबर्तन गर्ने कुरा युद्धलाई कमजोर बनाउने काम हुन्छ । अहिले नेतृत्व परिवर्तन अर्थात केपी ओलीको बिकल्पका काम कुरा गर्नु भनेको सिंगो एमालेलाई कमजोर बनाउनु हो भन्ने कुरा सारा एमालेजनहरूले, पार्टीका नेतादेखि कार्यकर्ता, सदस्यहरूले बुझ्न आवश्यक छ । हुनत एमालेले प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जबजको नीति अबलम्बन गर्दै आइरहेको छ ।

अहिले नेतृत्वमा प्रतिष्पर्धा गर्न हुँदैन भन्न खोजेको कदापी होइन । कतिपय बिषम परिस्थिति र समयको माग र आन्दोलनको आवश्यकताले केपी ओली नै पुन ः निर्विकल्प नेतृत्वमा आउन पर्ने/ल्याउनुपर्ने, बन्नपर्ने अवस्था देखापरेको छ । यसको लागि सर्वसम्मत नेतृत्व चयन प्रक्रियामा जानसक्दा उत्तम हुन्छ । राजनीतिमा समय सापेक्षित निर्णय गर्न सकियो भनेमात्र सफलता हासिल गर्न सकिन्छ । नेतृत्व भनेको कसैको रहरले आउने, पालो पुर्याउन बन्ने, बनाउने बिषय होइन । नेतृत्व कुशल क्षमता, समयको माग र आन्दोलनको आवश्यकताले निर्माण गर्ने बिषय हो । त्यसैले राजनेता केपी ओली नै आजको आन्दोलनको आवश्यकता र समयको माग हो ।

(लेखक पौडेल एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रवासी नेपाली संघ भारतका निवर्तमान महासचिव हुनुहुन्छ -सं)