जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार ०९:५१

भारतले रोकेपछि चिनबाट आयात गरियो साढे तीन करोड बढिको प्याज


काठमाडौं, कात्तिक २९

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ । जसमध्ये चीनबाट मात्रै ३ करोड १३ लाख रुपैयाँको ७ लाख ४९ हजार २ सय किलो आयात भएको विभागले जनाएको छ ।

२०७५र७६ को पहिलो तीन महिनामा १० करोड ४३ लाख रुपैयाँको ३० लाख ९८ हजार ६ सय किलो आयात भएको थियो । उक्त प्याज भारतबाट मात्रै आयात भएको थियो । भारतले प्याज उत्पादनमा कमी आएको जनाउँदै असोज दोस्रो सातादेखि निर्यात बन्देज गरेपछि व्यवसायीले विकल्पमा चीन रोजेका हुन् ।

‘फाटफुट रूपमा तिब्बत र खासाबाट प्याज आउँछ,’ तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने, ‘चीनबाट आयातित प्याजको स्वाद फरक छ । उपभोक्ताको रोजाइमा कमै परेको देखिन्छ ।’ भारतमा मुख्यतस् महाराष्ट्र र कनार्टकलगायत राज्यमा प्याज उत्पादन हुन्छ । अघिल्लो वर्षको खडेरी, त्यसपश्चात् अत्यधिक वर्षा र बढीले यी दुवै राज्यमा प्याज खेतीमा असर पुगेको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार प्रतिबन्धकै समयमा नेपालमा चाडबाड भएकाले चीनबाट मगाएको बताए । व्यवसायीका अनुसार चीनको प्याज ठूलो आकारको हुन्छ । जसले गर्दा उपभोक्ताहरू त्यति रुचाउँदैनन् । नेपाली तथा भारतीय प्याजकै माग उच्च रहेको उनीहरूको दाबी छ । ‘अहिले माग बिस्तारै बढ्दै गएको छ, भारतबाट दैनिक करिब ६० टन प्याज भित्रिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने । प्याजको माग बढे पनि स्वदेशी उत्पादन भने नगन्य छ । श्रेष्ठका अनुसार ९९ प्रतिशत आयातकै भर हुन्छ ।

कृषि विभागका वरिष्ठ बागबानी अधिकृत नारायण काफ्ले पनि उत्पादन न्यून भएको बताए । ‘नेपालमा प्याज उत्पादन हुने क्षेत्र तराई नै हो । कञ्चनपुरदेखि झापासम्म उत्पादन हुन्छ । सबैभन्दा बढी प्रदेश २मै उत्पादन हुन्छ,’ काफ्लेले भने, ‘तर, स्वदेशी उत्पादनले तीन महिना पनि धान्दैन ।’

प्याज उत्पादनका लागि पर्याप्त सिँचाइ चाहिन्छ, कात्तिक–मंसिरमा लगाएर चैत–वैशाखमा उखेलिन्छ । त्यस अवधिमा मौसम सुक्खा भएकाले उत्पादनमा सिधै असर पुर्‍याउँछ । ‘बीउमा पनि परनिर्भर नै छौं । पुरानो स्टकको बीउ गुणस्तरीय नहुँदा सिधै उत्पादन घट्छ,’ काफ्लेले भने, ‘जसले गर्दा आयात बढ्दो छ ।’ भन्सार विभागको तथ्यांकअनुसार २०७१\७२ मा १ करोड ४ लाख रुपैयाँको १ लाख ९ हजार किलो प्याज आयात भएको थियो । २०७५र७६ मा ४० करोड २५ लाख रुपैयाँको १ करोड ५ लाख १५ हजार किलो आयात भएको छ ।

कृषि मन्त्रालयले भने कृषि उपजको उत्पादनमा आत्मनिर्भर उन्मुख भएको दाबी गर्छ । मन्त्रालयले तयार पारेको प्रतिवेदनर१४ औं योजनाको लक्ष्यअनुसार २०७५र७६ मा तरकारीको उत्पादनको लक्ष्य ४० लाख टन राखेकामा ४१ लाख ७५ हजार टन उत्पादन भएको दाबी गरेको छ । ‘तरकारीमा आत्मनिर्भरतर्फ र ‘नयाँ प्रविधिको प्रयोग, हाइटेक हर्टिकल्चरको माध्यमबाट तरकारी खेतीले व्यावसायिकतामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘लक्ष्यभन्दा १ लाख ७५ हजार टन बढी उत्पादन भएको छ । तरकारीको उत्पादन १.८६ प्रतिशत र उत्पादकत्वमा ०.११ प्रतिशतले बढेको छ ।’ (कान्तिपुर)