काठमाडौं, साउन २४ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालसँग कुनै सम्झौता नहुने बटमलाइन सुनाउनु भएको छ ।
केही समयदेखि अध्यक्ष माधव र सम्मानित नेता खनालबिच मिडिया युद्ध र जुहारी चल्दै आएपछि निवासमै भेट्न आउनु भएका नवप्रवेसी तेस्रो वरियताका नेता बामदेव गौतमसँग खनालले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
स्रोतका अनुसार भेटमा खनालले माधवमा सुधारको कुनै गुञ्जायस नरहेको र अख्तियारले भ्रष्टाचारमा मुद्दा दायर गरेपछि नैतिक पतन भइसकेको ठोकुवासहित अव सम्झौता नहुने बताउनु भएको छ । स्रोतका अनुसार आफूले विधिवत् रूपमा प्रश्न उठाएको र पार्टीलाई सही ट्र्याकमा हिँडाउन भन्दा पत्रकार सम्मेलन गरेर र भाषण गरेर मनपरी बोलेको भन्दै खनालले ‘त्यो ..माधव जस्तो पतितसँग के को सम्झौता ?’ भन्ने सम्मको शब्द प्रयोग गर्नुभएको छ ।
खनालले आफ्नो कोटेश्वरको जग्गा खाइदिएको सम्मको कुरा खोलेको समेत स्रोतले दाबी गरेको छ । ‘मेरो कोटेश्वरको जग्गा खाइदियो, चुप बसेँ, पहिला जस्तो लोभी छैन जस्तो लागेको थियो, सुध्रिएको होला भन्ने लागेको थियो तर ती सबै केही पनि भएकै रहेनछ, सुधारको गुनजायस नै छैन रहेछ,’ खनालको आक्रोश उद्धृत गर्दै स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।
स्रोतका अनुसार खनालले त्यो भ्रष्टाचारीको मुद्दा खेपेको नैतिक पतन भइसकेकोलाई कसले नेता मान्छ ? किन मान्छ ? भन्दै माधवप्रति कडा आक्रोश पोखेपछि बामदेवले लु अव ती कुरा छाडौँ, अरू के छ भन्दै अवस्था शान्त बनाउनु भएको थियो ।
नेकपा एकीकृत समाजवादीमा पछिल्लो समय नेपाल र खनालबिच बोलचालसमेत बन्द रहेको छ भने मिडियामा एकले अर्का विरुद्ध आगो ओकल्ने गर्नुभएको छ । दुई नेताबिचको युद्ध मिडियामा छताछुल्ल भएपछि मिलाउने पहलकदमीका साथ बामदेव खनाल निवास डल्लु पुग्नुभएको थियो ।
खनालसँगको भेटपछि गौतमले यति तिक्तता पालेर बसेको थाहै भएन भन्दै आफू निकटलाई बताउनु भएको छ । ‘कस्तो देखियो भने नामै सुन्न नचाहने अवस्थामा पो हुनुहुँदो रहेछ, मिलाउने कुरा त सुन्नै नचाहने,’ भेटपछि आफू निकटहरूसँग गौतमको भनाई छ । गौतमसँगको भेटमा खनालले माधवको चर्को आलोचना गरेको र अध्यक्ष मान्न सकिने सबै आधार सकिएको निष्कर्षसमेत सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्