काठमाडौं, साउन २राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेझैँ बिगो बुझाएपछि थुनामुक्त हुन पाउने व्यवस्था लागू भएमा धेरै थुनुवाहरूलाई छाड्नुपर्ने अवस्था आउने कानुनविद्हरूले बताएका छन् ।
फौजदारी वा संगठित अपराधको आरोप लागेका व्यक्तिहरूलाई दोषी ठहर भएमा कैद सजाय र जरिवानाको व्यवस्था भएकाले थुनामा राख्नु परेको उनीहरूको भनाई छ ।
कैद सजाय नहुने मुद्दामा मात्रै बिगो बुझाएपछि थुनामुक्त हुन पाउने भएकाले संगठित अपराधको आरोप लागेका लामिछानेलाई बिगो बुझाएर मात्रै छाड्न नमिल्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा भण्डारीले बिगो बुझाएर थुनामुक्त हुन पाउँ भन्दै लामिछानेको तर्फबाट दिइएको निवेदन आत्मघाती भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बिगो बुझाएपछि रविजी झन् फस्नुभयो, एकातर्फ दोषी स्विकार्नु, अर्को तर्फ थुनामुक्त हुने सम्भावना छैन, त्यसैको यो कदम घातक हुने भयो ।’
भण्डारीले थप्नुभयो, ‘दोषी ठहर भएमा मात्रै बिगो तिर्ने हो, रविले अहिले बिगो तिर्छु भन्नु दोष स्वीकार गर्नु हो ।’ वरिष्ठ अधिवक्ता भण्डारीले अध्यक्ष लामिछानेका दाबी र अभिव्यक्तिलाई उहाँकै प्रमाणहरूले खण्डित गर्ने गरेको उल्लेख गर्दै उहाँको बोलीभन्दा प्रमाण मुख्य कुरा भएको तर्क गर्नुभयो ।
रास्वपा सभापति लामिछानेले आफूले ठगी नगरेको दाबी गरे पनि उहाँले ठगी गरेका प्रमाण र आधारहरू धेरै भेटिइसकेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्