जनता टाइम्स

२६ श्रावण २०८२, सोमबार १०:५०

बिभाजनको डिलैमा पुग्यो नेकपा एस, झलनाथले नछाडने भए माधवको भ्रष्टाचारको केस


काठमाडौं, साउन २६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष पद छाडनुपर्ने सम्मानित नेता झलनाथ खनालको प्रस्तावले सो पार्टीभित्र गम्भीर संकट निम्त्याएको छ । भ्रष्टाचार मुद्दा लागेको मानिस पार्टी अध्यक्ष रहन नहुने भन्दै खनालले अडान कसेपछि सो पार्टीमा संकट निकै गहिरो बनेको हो ।

दुई नेताबीचको दुरी समुहवन्दीमा परिणत भएपछि संकट निवारणको सम्भावनासमेत टरेको महसुस हुन थालेको कार्यकर्ताहरुको भनाई छ । दुई नेताबीच बिवाद बढदै जाँदा दोस्रो तहका नेताहरूको पहलमा शनिबार बिहान झण्डै डेढ घण्टा कुराकानी भएपनि चुरो कुरोमा प्रवेश नै भएन ।

पार्टी नेताहरू वेदुराम भुसाल र प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई साक्षी राखेर केन्द्रीय कार्यालय आलोकनगरमा शनिवार नेपाल र खनालबीच कुराकानी भएको तर कुनै निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन । सो छलफलमा दुवै नेताले अडान लिए भने सार्वजनिक भएका आफ्ना अभिव्यक्तिको प्रष्टोक्ति दिने काम गरे ।

सम्मानित नेता खनालले माधवको बहिर्गमन र एमालेबाट अलग भएको चार वर्ष पुग्दा समेत विद्रोहको पुष्टि गर्न नसकिएको अभिव्यक्ति दिएपछि नेपालले पार्टीमा रहने आधार समाप्त भएको भन्दै कठोर शब्द प्रयोग गर्नुभएको थियो । जवाफमा खनालले पतञ्जली जग्गा मुद्दा खेपिरहेका र विद्रोहको पुष्टि गर्न नसकेकाले माधवलाई पार्टी छोड्न सुझाव दिनुभएको थियो ।

असार तेस्रो साता बसेको सचिवालय बैठकमा खनालले माधव अध्यक्ष पदमा रहिरहन नमिल्ने लिखित प्रस्ताव राख्नुभएको थियो । सो प्रस्ताव गोप्य राख्ने भनिएपनि झलनाथबाटै सार्वजनिक भएपछि माधव निकै चिढिनुभएको स्रोतले जनताटाइम्स डटकमलाई बताए ।

ती नेताका अनुसार सचिवालयमा प्रस्तुत झलनाथको प्रस्ताव सार्वजनिक नगर्ने सहमति थियो । जुन प्रस्तावमा भनिएको छ, ‘माधव नेपालले खेपिरहेको मुद्दा व्यक्तिगत भएकाले उहाँले नेतृत्व अरू कसैलाई छोडेर अदालतबाट सफाइ पाउनेतिर लाग्नु राम्रो हुन्छ ।’

पछिल्लो समय माधवतिर रहेका नेताह एकपछि अर्काे गैरकानूनी काममा तानिएको बेला खनाल आक्रमक बनेपछि बिवाद झनै बढेको हो । माधव निकट उपमहासचिव मेटमणि चौधरी लेनदेन र चेक अनादरमा बिवादमा तानिनुभएको छ । यही कारण बिवाद बढेको हो । चौधरी पैसा फिर्ता गर्दा गर्दा तन्नमको अवस्थामा पुगिसक्नुभएको छ ।

बिवादको चुरो कुरा माधवको पदलोलुपता भएको खनाल पक्षको भनाई छ भने नेपाल पक्ष शुत्रुवत ब्यवहार भएको भन्दै आक्रोशित बनेको छ । यही मौकामा झलनाथ खनाल पार्टीभित्रै समानान्तर गतिविधि सहित माधवलाई नेतृत्वबाट हटाउने अडानमा लागेपछि बिभाजनकै डिलमा पुगको अनुमान नेताहरु गर्न थालेका छन । खनाल समुहले युवा र विद्यार्थीमा त समानान्तर अभ्यास नै चलाइरहेको छ ।