काठमाडौं, साउन २७ । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उहाँकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुग्नुभएको छ ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने उद्देश्यले इजरायल सरकारले बोलाएपछि उहाँहरू सोमबार इजरायल जानुभएको हो । तेलअविवस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएका उहाँहरूलाई इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत श्री धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदारलगायतले स्वागत गर्नुभएको थियो ।
त्यहाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूसँग प्रतिक्रिया दिँदै गर्दै विपिनकी आमा पद्मा जोशीले आफूहरू विपिनलाई लिन आएको बताउँदै सहयोगका लागि सबैमा अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘म मेरो छोरा विपिनलाई लिन आएकी हुँ, उसलाई मुक्त गराइदिनुहोस्, हामीसँगै नेपाल फर्काइदिनुहोस् ।’
बहिनी पुष्पा जोशीले आफूहरूको कसैसँग दुष्मनी नभएकोले विपिनलाई छाडिदिन आग्रह गर्नुभयो । ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन, उहाँलाई विनासित्ती नराख्नुस्, हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौँ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत इजरायल जानुभएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो । सोही घटनामा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने हमास लडाकुले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएका थिए । युद्ध विरामको क्रममा कतिपयलाई मुक्त गरे पनि विपिन अझै रिहा हुनुभएको छैन ।
नेपाल सरकारले उहाँको रिहाइका लागि कूटनीतिक पहल जारी राखे पनि उहाँको अवस्थाबारे अझै जानकारी पाउन नसकिएको जनाइएको छ । इजरायली विदेश मन्त्रालयका अधिकारीका अनुसार पद्मा र पुष्पालाई संयुक्त राष्ट्र सङ्घको कार्यालयमा उपस्थित गराई विपिनलाई छुटाउनका लागि दबाब बढाउने तयारी गरिएको छ । त्यसअघि प्रधानमन्त्री, रक्षा मन्त्री, सेना प्रमुख तथा हमास विरुद्धको कारबाहीमा संलग्न कमान्डरहरूसँग भेट गराउने र बन्धक बनाइएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाबारे जानकारी दिने कार्यक्रम रहेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्