जनता टाइम्स

३० कार्तिक २०७६, शनिबार १७:२६

जिम्मेवारी पूरा नगर्नेलाई पद छाडन बामदेव गौतमको निर्देशन


काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपालको विकास र समृद्धिले आगामी पाँच वर्षमा भारत र १० वर्षमा चीनलाई छुने उदघोष गर्नुभएको छ ।

पार्टी निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रस्तावित उपाध्यक्ष गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरी मुलुक विकासको गतिमा अघि बढेको बताउनु भयो । नेता गौतमले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने ठोकुवासमेत गर्नुभयो । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै गौतमले अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने बताउनु भयो ।

‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौं । आएर हेर, पाँच वर्षसम्म राम्रोसँग काम गर्न पायौं भने भारतलाई हामीले छुन्छौं । १० वर्षमा चीनलाई छुन्छौं,’ गौतमले भन्नुभयो, ‘हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर ।’ उहाँले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधैं तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकताअनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको प्रष्ट पार्दै संगठन बिभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले जिम्मेवारी पूरा नगर्नेलाई पद छाडन निर्देशन दिनुभयो ।