जनकपुर, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई ‘शासक होइन, जनताको सेवक’ भएर काम गर्न निर्देशन दिनुभएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपछि आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन तथा शान्ति सुरक्षाका लागि प्रहरी हाकिमको हैसियतभन्दा पनि सेवकको भूमिकामा रहनुपर्नेमा जोड दिनुभयो। उहाँले कसैलाई जबर्जस्ती फसाउने वा यातना दिने कार्य तत्कालीन राणा शासन र पञ्चायती व्यवस्थामा हुने प्रथा भएको उल्लेख गर्दै, यस्तो प्रवृत्ति लोकतान्त्रिक प्रणालीमा स्थान नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस समयमा शासनसत्ता जोगाउन झुटो आरोप लगाउने कार्य हुन्थ्यो, अहिले पनि केही तत्वहरूले अराजक फैलाउने, आफूलाई नयाँ शक्तिको रूपमा प्रस्तुत गर्ने र देशमा अस्थिरता ल्याउने प्रयास गरिरहेका छन्, त्यसबाट सतर्क रहनु आवश्यक छ।’

उहाँका अनुसार, समाजमा अराजकता फैलाउने तत्वहरूको लोकतन्त्र स्थापनामा कुनै योगदान छैन, बरु उनीहरूलाई राष्ट्र र समाजले सजाय दिनुपर्ने हो। लोकतन्त्र जनताको ठुलो त्याग, तपस्या र बलिदानीबाट आएको भन्दै उहाँले यसको सुरक्षा र दिगोपनाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्रको सुरक्षा गरिरहेको जस्तै नेपाल प्रहरीले पनि आफ्नो योग्यता, दक्षता र इमानदारीका साथ जनताको सुरक्षा र सेवा गर्नुपर्ने बताउनुभयो। देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी–डकैती, लागुऔषधको दुरुपयोग, सीमा क्षेत्रमा हुने चोरी–तस्करी, मानव ओसारपसार र राजस्व चुहावट नियन्त्रण गर्न प्रहरी सङ्गठन गम्भीर र इमान्दारीपूर्वक लाग्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले देशमा स्थिरता, शान्ति सुरक्षा र सुशासनको आधार निर्माण गरिरहेको दाबी गर्नुभयो। भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउन पनि प्रहरीले अग्रसर हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
मधेस प्रदेश सरकारले समयसापेक्ष भौतिक सुविधासहितको प्रहरी भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त भवनको निरीक्षणसमेत गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्