जनता टाइम्स

३० श्रावण २०८२, शुक्रबार २१:५०

राष्ट्र प्रमुख भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कनुभन्दा सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेकै राम्रो : हिक्मत कार्की 


काठमाडाैं, साउन ३० । कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मत कार्कीले  संविधानको संरक्षक र सम्पूर्ण नेपालीको अभिभावक भइसकेको व्यक्तिले सम्मानित रहँदा नै राष्ट्रलाई फाइदा हुने बताउनुभएको छ ।

एमालेको जनसंगठन अखिल नेपाल महिला संगठन (अनेमसंघ)  धनकुटाले आयोजना गरेको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै  कार्कीले  त्यसै भएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सम्मानपूर्वक त्यस्तो भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनुभयो । । पूर्वराष्ट्रपतिको सम्माननीय योगदानलाई स्मरण गर्दै उहाँले राष्ट्रको प्रमुख भइसकेको व्यक्तिले राजनीतिमा पुनः सक्रिय नभई सम्मानपूर्वक राष्ट्रका सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मुख्यमन्त्री कार्कीज्यूले कोशी प्रदेश सरकारले उद्यमशीलता विकासका लागि विभिन्न चरणका कार्य अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले महिलाहरूले आफ्नै सोच र मानसिकता अनुसार सबल तथा सक्षम बन्नुपर्ने र संगठनलाई पनि सोही अनुरूप सबल बनाउनुपर्नेमा जोड दिनुभयो। युवा महिलालाई लक्षित गरी संगठनमा गोलबन्द गर्न, साना तथा दीर्घकालीन योजना बनाएर काम गर्न, र परिणामलाई गुणात्मक रूपमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

धनकुटाका महिलाहरूमा घरेलु उद्योग, प्राविधिक शिक्षा, व्यावसायिक सीप, तथा काम गर्न सक्ने क्षमता अन्य जिल्लाभन्दा बढी रहेको बताउँदै मुख्यमन्त्रीज्यूले कृषिका विभिन्न क्षेत्रमा व्यावसायिक उद्यमी बन्न र उत्पादनको बजारीकरणका लागि पालिकामार्फत समन्वय गरी आयआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो। यसका लागि प्रदेश सरकारले व्यावसायिकहरूलाई ३० लाखदेखि १ करोडसम्मको कर्जा ६ प्रतिशत ब्याजदरमा, तथा साना तथा मझौला उद्योगका लागि बिना धितो ३० लाखदेखि ३ करोडसम्मको लगानी सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार, दुई वर्षभित्र ६ अर्ब रुपैयाँ ब्याज अनुदानसहित उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ, जसले स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा कमी ल्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउनेछ। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न महिलाहरूलाई उद्योग व्यवसायमा संलग्न गराई आत्मनिर्भर बनाउन अखिल नेपाल महिला सङ्घले अग्रसर भूमिका खेल्नुपर्नेमा उहाँको विशेष जोड रह्यो।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ केन्द्रीय कमिटीका कार्यवाहक अध्यक्ष मेनुका पोखरेलज्यूले सङ्घको सुरुवाती चरणदेखि हालसम्मको सांगठनिक स्वरूपबारे जानकारी गराउँदै विधान, नीति, नियमावली तथा आर्थिक नियमावलीअनुसार कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
मुख्य प्रशिक्षकका रूपमा नेकपा एमाले पोलिटब्युरो सदस्य ईश्वरी रिजालले महिला मुक्ति आन्दोलनको दृष्टिकोण, महिलाको वास्तविक समस्या, वैज्ञानिक समाधानका उपाय, र सङ्घको वर्तमान तथा विशेष भूमिका सम्बन्धी प्रशिक्षण दिनुभयो।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा धनकुटा इञ्चार्ज राजेन्द्र कुमार राई, केन्द्रीय सदस्य तथा प्रदेश निर्वाचन समन्वय कमिटी–१ की इञ्चार्ज बिना देवी राई, अखिल नेपाल महिला सङ्घ प्रदेश कमिटी सहसचिव अन्जु पाण्डे, धनकुटा जिल्ला पार्टी कमिटी अध्यक्ष शिव लिम्बुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षता अखिल नेपाल महिला सङ्घ नगर कमिटी अध्यक्ष गोमा कार्कीले गर्नुभएको थियो।