जनता टाइम्स

१ मंसिर २०७६, आईतवार ०८:२४

आलमले नख्खु कारागारमा गरेका कुराकानी रेकर्ड, सिसी क्यामेराबाट निगरानी गरिने ( कारण यस्तो )


काठमाडौं, १ मंसिर । आफैंले बनाउन लगाएको बम विस्फोटमा घाइते भएका २३ युवालाई जिउँदै जलाएको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले कारागारमा गरेको कुराकानी रेकर्ड गरिने भएको छ ।

कारागारबाटै आपराधिक समूह परिचालन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनको कुराकानी रेकर्ड गर्न लागिएको हो । शुक्रबार अदालतले पुर्पक्षका लागि थुन्न आदेश दिएलगत्तै रौतहटबाट राजधानी ल्याइएका आलमलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेलले आलमकै सुरक्षाका लागि कुराकानी रेकर्ड गरिएको दाबी गरे ।

पौडेलका अनुसार आलमले भेट्न आउने आफन्त तथा परिवार र कारागारका अन्य कैदी बन्दीसँग गरेको कुराकानीसमेत रेकर्ड गरिने छ । थुनछेक बहसका क्रममा धेरै कानून व्यवसायी राखेर प्रक्रिया लम्ब्याएका आलमले जाहेरी दिने घटनाका पीडितलाई बयान फेर्न दबाब दिएका थिए । आलमले पारिवारिक सदस्य, निकट नातेदार र उनका पक्षमा बहस गरिरहेका कानून व्यवसायी मात्र भेट्न पाउने छन् । यस्तै आलमका हरेक गतिविधिको भिडियो सिसी क्यामेरामा कैद गरिने भएको छ ।