जनता टाइम्स

१ भाद्र २०८२, आईतवार ११:५६

प्रधानमन्त्री केपी ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको शिष्टाचार भेट


काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएका विदेशसचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

भेटवार्तामा दुई देशबीचको आपसी हितका विषय, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने सम्भावना र आपसी सहकार्यका कार्यक्रमबारे चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र आर्थिक निकटतामा आधारित रहेको भन्दै दुवै पक्षले उच्चस्तरीय संवादमार्फत सहयोग र समझदारीलाई निरन्तरता दिन आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

विदेशसचिव मिस्री दुई दिने नेपाल बसाइका क्रममा परराष्ट्र मन्त्री, अन्य उच्च पदस्थ अधिकारी तथा विभिन्न राजनीतिक नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।