ताप्लेजुङ, भदाै १ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अहिले एमालेभित्र कुनै गुट नरहेको दाबी गर्नुभएको छ ।
प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताउनुभयो । उहाँले देशको आवश्यकता अनुरूप नेकपा एमाले र नेपाली काँग्रेसबीचको गठबन्धनसहितको सरकार बनेको र आगामी निर्वाचनसम्म यही सरकार रहने स्पष्ट गर्नुभयो । ‘देशमा विषम परिस्थिती सृजना भएकाले गतवर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो, सरकारले देशको आर्थिक स्थिति सुधार गरेको छ, अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पारेको छ, कतिपय कानुन संशोधन गरेको छ र विकासका कामलाई तीव्रता दिएको छ’, उहाँले भन्नुभयाे ।
संविधान संशोधनको आवश्यकताबारे कुरा गर्दै भट्टराईले स्थानीय तहको संख्या घटाएर वडा संख्या बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्षको भूमिकामा राख्नुपर्ने र संवैधानिक आयोगहरूको संख्या समेत घटाउनुपर्ने सुझाव दिनुभयो ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको दाबी गर्दै भट्टराईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीका लागि आह्वान गरेको बताउनुभयो । ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ, सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानी आकर्षित गर्ने वातावरण बनाएको छ, थुप्रै आर्थिक ऐन संशोधन भएका छन्, केही नयाँ ऐन बनेका छन्, विदेशी लगानीलाई निरुत्साहित गर्ने प्रावधानलाई संशोधन गरिएको छ’, उहाँले भन्नुभयाे ।
उहाँले जिल्लामा सञ्चालनमा रहेका वा आउने तयारीमा रहेका ठूला विकास परियोजनाहरूलाई कतैबाट पनि अवरोध नगरी अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्