पाल्पा, भदौ १ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले विरोधमा रमाएर मात्र राजनीति गर्ने प्रवृत्तिले दीर्घकालीन भविष्य नबनाउने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बर्खामा आउने खहरेको बाढीसँग तुलना गर्दै यसको राजनीतिक अस्तित्व टिकाउ नभएको बताउनुभयो । ‘जसरी खहरेको बाढी एकै बर्खामै सुक्छ र फेरि कमिला हिँड्न थाल्छ, त्यस्तै रास्वपाको राजनीति पनि हराउँदै जानेछ’, उहाँले भन्नुभयो ।
पौडेलले प्रतिगामी तत्त्वहरू नेपालमा किनारा लागिसकेका र उनीहरूको कुनै सम्भावना नरहेको दाबी गर्नुभयो । ‘प्रतिगामी एजेण्डा बोकेकाहरू अब कहिल्यै उठ्न सक्दैनन्, केवल समय खेर फालिरहेका छन्’, उहाँले भन्नुभयो ।
पौडेलले मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिरहेको बताउनुभयो । सहमतिअनुसार अघि बढिरहेको यो सरकारले मुलुकलाई स्थायित्व दिनेछ उहाँले विश्वास दिलाउनुभयो । २०८४ अगाडि यो समीकरण ढल्ने अवस्था कतै नदेखिएको उहाँले स्पष्ट पार्नुभयो। ‘सरकार ढल्छ भनेर सपना नदेख्नुहोस्, सरकारले मिलेर काम गरिरहेको छ, त्यसैले ढल्छ भन्नेहरू पनि बोल्न छाडेका छन्’, उहाँले भन्नुभयो ।
अस्थिरताको राजनीति गर्ने दिन सकिएको उल्लेख गर्दै पौडेलले अब नेकपा माओवादी केन्द्रले पनि मुलुकलाई अस्थिरतामा धकेल्ने बाटो अवरुद्ध भएको दाबी गर्नुभयो । दृष्टिकोण, एजेण्डा र गन्तव्य नभएका पार्टीहरूले मात्रै अस्थिरता निम्त्याउन खोजेको बताउँदै उहाँले सरकार प्राथमिकताका आधारमा विकासमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्नुभयो ।
पाल्पाको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै पौडेलले बजेट विनियोजनमार्फत आवश्यक कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्