जनता टाइम्स

१ भाद्र २०८२, आईतवार १९:४९

फुट्यो नेकपा एस निकट युवा संगठन, भ्रष्टाचारबिरुद्ध अभियान छेडने घोषणासहित खनाल–भुसाल पक्षले बनायो समानान्तर कमिटी (सूचीसहित)


काठमाडौं, भदौ १ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसम्वद्ध युवा संघ औपचारिक रुपमा दुई पक्षमा बिभाजित भएको छ ।

अध्यक्ष नेपालले आफू निकटलाई युवा संघमा हालीमुहाली गरेपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकट संजीव राईको नेतृत्वमा आज समानान्तर कमिटी गठन भएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल पक्षको नवौं महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएकै दिन आइतबार खनाल–भुसाल पक्षका युवा नेताहरूले समानान्तर कमिटी घोषणा गरेका हुन् । घोषित समानान्तर कमिटीको नेतृत्व लिनुभएका राई सो संगठनको अधिकांश युवाका प्रिय मानिन्छन ।

नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै खनाल पक्षले आज राईको नेतृत्वमा समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको हो । पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएको सो पक्षलेब ताएको छ ।

साउन १७ मा घोषणा गरिएको नेपाल पक्षीय रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षका युवा नेताले अस्वीकार गर्दै आएका थिए । राईको नाम उक्त कमिटीको सहसंयोजकको रुपमा दोस्रो नम्बरमा उल्लेख थियो । तर उहाँले तत्कालै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गर्नुभएको थियो ।

राई संयोजकत्वको उक्त कमिटीमा खनालपुत्र निर्भिक खनाल चित्रकारसहित काभ्रेका भेषकुमार शाह, कालिकोटका अनिल बोगटी, गोरखाकी रेखा तामाङ लोप्चन, इलामका कुनाल राई, कैलालीका बाबुराजा श्रेष्ठ, जुम्लाका मनोज खत्रीसहित नेताहरू रहनुभएको छ ।

युवा संघको यो कमिटीलाई पोलिटव्युरो सदस्य तथा संघका पूर्वअध्यक्ष नरेश शाही, पार्टी केन्द्रीय सदस्य सुशील भट्टराई, बाँके जिल्लाका पार्टी अध्यक्ष दीपक जिएमले समर्थन गर्नुभएको छ । सो समुहले भ्रष्टाचारबिरुद्ध शसक्त अभियान छेडने नारासमेत बनाएको छ ।