काठमाडौं, भदौ १ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरिरहेका स्थानीय तहमा यथाशीघ्र प्रमुख प्रशासकीय अधिकृत खटाइने जानकारी दिनुभएको छ ।
आफूले काम सुरु गरेको एक महिना पुगेपछि आइतवार मन्त्रालयमै पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले यस्तो जानकारी दिनुभएको हो । ‘स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन हुन नसक्दा सिर्जना हुने समस्या समाधान गर्न मन्त्रालयमा आन्तरिक छलफल गरी सुधारको खाका तय गरिएको छ,’ मन्त्री न्यौपानेले भन्नुभयो ।
मन्त्री न्यौपानेका अनुसार सुधारको खाका अन्तर्गत मन्त्रालयले हाल विभिन्न निकायमा काजमा खटाइएका, फाजिलमा रहेका र विभिन्न निकायमा लामो अवधिसम्म कार्यरत रही दुर्गममा सेवा गर्न नगएका कर्मचारीको विवरण संकलन गर्ने कार्य अघि बढाएको छ ।
‘यसरी प्राप्त विवरणका आधारमा मन्त्रालयले उल्लिखित अवस्थाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउनेछ, स्थानीय तहहरूले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने प्रवृत्ति अन्त्य गर्न यसअघि वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको मन्त्री न्यौपानेले बताउनु भयो ।
त्यसैगरी, मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड तर्जुमा गरेको उहाँले बताउनु भयो । विगत लामो समयदेखि चर्चा हुँदै आएको तर निर्माण भई कार्यान्वयनमा ल्याउन नसकिएको कर्मचारी सरुवासम्बन्धी मापदण्डका सम्बन्धमा मन्त्रालयमा धेरै चरणमा छलफल गरी अन्तिम मस्यौदा तयार पारिएको छ ।
‘संघीय निजामती सेवा ऐन प्रतिनिधिसभाबाट पास भई राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलका लागि कार्यतालिका समेत तोकिसकेको अवस्थामा अब केही दिनमै जारी हुने भएकाले उक्त ऐन जारी भएसँगै सरुवा मापदण्डमा ऐनसँग सामञ्जस्य हुनेगरी आवश्यक सुधारसहित स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ,’ पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले भन्नुभयो ।
उहाँले तीनै तहमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना वा मौजुदामा परिवर्तन गर्दा निश्चित वस्तुगत मापदण्डका आधारमा गर्नेगरी व्यवस्थित बनाउन संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने निर्णय गरी मन्त्रालयका सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुखको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यदल गठन भई कार्य प्रारम्भ गरिएको जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्